नेपालगञ्ज : परिवार नियोजन संघ बाँकेले अपांगता भएका व्यक्तिको यौन प्रजनन सुनिश्चितताका लागि सरोकारवाला निकायसंग बहस थालेको छ । मंगलबार नेपालगञ्जमा अपांगतामैत्री यौन तथा प्रजनन स्वास्थ्यसेवा सम्बन्धी सञ्चारकर्मी, अपांगता अधिकारकर्मी र मानव अधिकारकर्मीलाई अभिमुखिकरण गराइएको छ ।
अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले आत्मविश्वासका साथ आफ्ना धारणा राखिरहेका थिए । परिवार नियोजन संघ बाँकेकी शाखा प्रबन्धक रश्मि श्रेष्ठले भनिन–’अपांगता भएकाहरूलाई ‘यौनिकता छैन’, ‘प्रजननको अधिकार अनावश्यक छ’ भन्ने सामाजिक पूर्वाग्रह अझै बलियो छ । त्यसैले बहस आवश्यक थियो, वातावरण आवश्यक थियो, अनि आवाजलाई ठाउँ आवश्यक थियो । त्यहीँ भएर सरोकारवाला निकायलाई बोलाएर बुझाउने र समुदायमा सचेत बनाउने प्रयास गरिएको हो ।
यौन प्रजननबारे सोध्दा आउने असहज प्रतिक्रियालाई हटाउन सके मात्र अपांगता भएका व्यक्तिको यौन प्रजनन अधिकार प्राप्ती गर्ने राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज प्रमुख द्वारिका अधिकारीले बताइन् । उनले अपांगता भएका व्यक्तिहरुका लागि यौन–प्रजनन स्वास्थ्य सेवा केवल पहुँचको कुरा होइन, सम्मान र पहिचानको कुरा भएको बताइन् ।
यस्तै नेपालगञ्ज उपमहानगरपालिकाका महिला बालबालिका शाखा अधिकृत आशा शाहीले यौन तथा प्रजनन अधिकारका सवालमा व्यापक जनचेतना जगाउन जरुरी रहेको औल्याइन । ’प्रत्येक व्यक्तिले आफ्नो शरीर, यौन जीवन र प्रजननको बारेमा सुरक्षित, सूचित र स्वतन्त्र निर्णय गर्न पाउने अधिकारका बारेमा चेतना जगाउन पर्छ–उनले भनिन् ।
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालले यौन प्रजननका बारेमा अझैपनि समुदायमा बहस हुन नसकेको भन्दै समुदाय केन्द्रित बहस जरुरी रहेको बताए । उनले प्रजनन अधिकार सुनिश्चित गर्न पारिवारिक, सामाजिक तथा संरचनागत अवरोध हटाउनु पर्ने बताए ।
कार्यक्रममा बोल्ने अन्य सहभागीहरुले एकै स्वरमा भने –’अवरोध पहिले समाजमा छ, त्यसपछि मात्र संरचनामा।झ अधिकारकर्मी जीवन गिरीले गलत धारणा, भेदभाव, यौनिक क्षमताबारेको गलत बुझाइले अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन अधिकार ‘कागजी’ मात्र बनेको बताए । कार्यक्रममा अपांग अधिकारकर्मी गोकर्ण आचार्य, पत्रकार रुद्र सुवेदी, बिनोद थापा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
परिवार नियोजन संघ बाँकेका शाखा प्रबन्धक श्रेष्ठले संघले सञ्चालन गरिरहेको भेस्टिलिटो परियोजनाले अपांगता भएका व्यक्तिहरुलाई लक्षित गर्दै उनीहरुको आवश्यकताअनुसार सेवा, स्वास्थ्यकर्मीको सीप अभिवृद्धि, पहुँचमैत्री संरचना र सरोकारवालाबीच निरन्तर संवाद जस्ता पहल गर्दै आएको जानकारी दिइन् । उनका अनुसार कार्यक्रमले अपांगतामैत्री यौन प्रजनन स्वास्थ्य सेवालाई व्यवहारिक रूपमा लागू गर्ने आधार तयार गरिरहेको छ । परिवार नियोजन संघ बाँकेका सभापति बदरुदुज्जा खाको अध्यक्षतामा कार्यक्रम भएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार