Listen LIVE

सशस्त्र प्रहरीद्वारा झण्डै १६ लाखको अवैध सामान बरामद

नेपालगञ्ज : सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याइएको झन्डै १६ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बागेश्वरी बाँके तथा मातहत इकाईबाट खटिएको टोलीले नेपालगञ्ज लगायतका  सीमाक्षेत्रमा कडा निगरानी बढाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको हो। बैशाख १० र ११ गते सञ्चालन गरिएको विशेष गस्ती तथा चेकजाँचका क्रममा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको रु.१५ लाख ९६ हजार ६९७ बराबरका विभिन्न सामानहरू नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका सामानहरूमा खसीको छाला, किराना सामग्री, पेय पदार्थ, फलफूल, जुत्ता, मोटरसाइकल, तरकारी, सुर्तिजन्य पदार्थ, एग्रोभेटसम्बन्धी औषधि, दूध, बोइलर कुखुरा तथा माछा लगायत रहेका छन्। उक्त सम्पूर्ण सामग्री आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ भने कतिपय सामानलाई नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सीमाक्षेत्रमा हुने चोरीपैठारी तथा अवैध कारोबार नियन्त्रण गर्न सशस्त्र प्रहरीले चौतर्फी निगरानी कडा बनाउँदै आएको छ। नियमित गस्ती, आकस्मिक चेकजाँच तथा सूचना संकलनलाई प्रभावकारी बनाउँदै अवैध गतिविधि नियन्त्रणमा महत्वपूर्ण सफलता हासिल हुँदै आएको जनाइएको छ।

सशस्त्र प्रहरीका अनुसार आगामी दिनहरूमा पनि सीमामा निगरानी अझ सुदृढ पार्दै अवैध आयात तथा तस्करी नियन्त्रणमा कठोर कदम चालिनेछ।

प्रतिक्रिया