नेपालगञ्ज : पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्ज नाकाबाट गत आर्थिक वर्ष २०८०/८१ मा ३२ देशसँग ७२ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार भएको छ ।
नेपालगञ्ज भन्सार कार्यालयका अनुसार नेपालगञ्ज नाकाबाट गत आवमा राजस्व सङ्कलन लक्ष्य अनुसार हुन नसके पनि ३.४६ प्रतिशतले वैदेशिक व्यापार वृद्धि भएको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले अघिल्लो आव २०७९/८० को तुलनामा गत आव २०८०/८१ मा नेपालगञ्ज नाकाबाट दुई अर्ब ४२ करोड ९५ लाख ६० हजार रुपैयाँको वैदेशिक व्यापार बढी भएको बताए ।
उनले यो नाकाबाट अघिल्लो आवमा ७० अर्ब २० करोड ५४ लाख २७ हजार रुपैयाँको वैदेशिक व्यापार भएकोमा गत आवमा ३.४६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ६३ करोड ४९ लाख ८८ हजार रुञ्पयाँको वैदेशिक व्यापार भएको जानकारी दिए ।
नेपालगञ्ज नाकाबाट हुने वैदेशिक व्यापारको अधिकांश हिस्सा भारतले ओगटेको जनाउँदै सूचना अधिकारी लम्सालले अन्य ३२ देशसँग पनि व्यापार भएको बताए ।
भन्सार कार्यालयका अनुसार गत आवको वैदेशिक व्यापारमा ७० अर्ब २१ करोड ४९ लाख चार हजारको आयात र दुई अर्ब ४१ करोड ९० लाख ८४ हजारको निर्यात भएको छ । नेपालगञ्ज नाकाबाट भारत, बेलायत, मलेसिया, चाइना, अमेरिका, युरोपियन युनियन, स्विट्जरल्यान्ड, कोरिया, जापान, भियतनाम, बेल्जियम, इन्डोनेसिया, इटाली, दक्षिण अफ्रिका, टर्की, थाइल्यान्ड, ताइवान, दुबई, ओमान, कतार, साउदी अरेबिया, सिङ्गापुरसहित ३१ देशबाट सामान आयात भएको छ ।
यीमध्ये भारत, युनाइटेड अरब इमिरेट्स र म्यानमारसँग मात्रै निर्यात व्यापार भएको भन्सार कार्यालयका सूचना अधिकारी लम्सालले बताए ।
भन्सार कार्यालय नेपालगञ्जका अनुसार यो नाका हुँदै भारतलगायतका देशबाट इन्धन, खाद्यान्न, मेसिनरीसहित ५० प्रकारका सामग्री आयात हुने गरेको छ भने यहाँबाट जडीबुटी, प्लाइउडसहित १७ प्रकारका सामग्री निर्यात हुँदै आएको छ ।
भारत, म्यानमार र युनाइटेड अरब इमिरेट्समा जडीबुटी निकासी हुने गरेको जडीबुटी व्यवसायी सङ्घले जनाएको छ । नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क शर्माले नाकामा निकासी प्रक्रियालाई अझै सहज र सरल बनाउने हो भने धेरै ठुलो परिमाणमा जडीबुटी निर्यात गर्न सकिने बताए ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले उत्पादन सामग्रीको वृद्धि र एकीकृत भन्सार जाँच चौकी निर्माण भई सुचारु भएपछि निर्यात आयात सहज हुँदै गएको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार