कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–१० स्थित झलारी आयुर्वेद औषधालयलाई आर्थिक अभाव हुँदा सेवा बन्द हुने अवस्थामा पुगेका छन् । औषधीको व्यवस्था गर्न नसक्दा सञ्चालन हुँदै आएको पञ्चकर्म सेवा बन्द भएको औषधालयका कविराज जयराम शाहले बताए । “मालिस तेल बिरामीलाई औषधालयबाट निःशुल्करुपमा उपलब्ध गराइ पञ्चकर्म सेवा सञ्चालन गर्दै आएका थियौँ,” उनले भने, “तेल खरिद गर्ने आवश्यक बजेट नहुँदा सेवा बन्द गर्नु परेको छ ।”
सङ्घीय सरकारबाट अनुदान रकम आउँदा विगतमा औषधीको व्यवस्था मिलाउँदै आएको उल्लेख गर्दै उनले हाल सङ्घ, प्रदेश र नगरपालिकाबाट थोरै मात्रै बजेट आउँदा बिरामीको चापअनुसार औषधी पुर्याउन पनि धौ–धौँ भएको बताए । “केही पुरानो औषधी मौज्दाद हुँदा बिरामीलाई दिँदै आएका छौँ,” उनले भने, “केही औषधी सकिएको छ, केही सकिने अवस्थामा पुगेको छ ।”
सङ्घीय सरकारबाट चालु आबमा ८० हजार बजेट मात्रै औषधालय सञ्चालनका लागि आएको छ । नगरपालिकाबाट बजेट नै विनियोजन गरिएको छ । विनियोजन गर्ने आश्वासन पाइएको औषधालयका कर्मचारीको भनाई रहेको छ । औषधालयमा अम्लपित्त, पायल्स, उदररोग, श्वासप्रश्वास, बाथ, नशा, छालासम्बन्धी रोगका बिरामी बढी आउने गरेका छन् । आव ०८०÷८१ मा दुई हजार नौ सय ८९ बिरामीले औषधालयबाट सेवा लिएका छन् ।
औषधालयबाट पुरुष दुई हजार तीन सय ९१ र महिला पाँच सय ९८ ले सेवा लिएका छन् । आव ०७९÷८० मा छ हजार बिरामीले सेवा लिएका थिए । गएको आर्थिक वर्षबाटै बजेटको अभाव हुँदा बिरामीको सङ्ख्या घटेको बताइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार