नेपालगञ्ज : हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान प्रभावकारी नहुँदा बाँकेका तीन पालिका अझै पनि सो रोगको उच्च जोखिममा छन् । हात्तीपाइले रोग निवारणका लागि गरिएको आइडिए इम्प्याक्ट सर्भेमा बाँकेका नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका गरी तीन वटा पालिका फेल भएका छन् ।
ती पालिकामा फेरि हात्तीपाइले रोगविरुद्धको औषधी सेवन कार्यक्रमलाई निरन्तरता दिनुपर्ने देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा र स्वास्थ्य कार्यालय बाँकेको संयुक्त आयोजनामा बाँकेका आठ वटै पालिकामा गत महिना सर्भेको काम भएको थियो ।
सर्भेका क्रममा तीन वटा पालिकाबाहेक अन्य पाँच वटा पालिका सफल भएकाले ती पालिकामा अब औषधी सेवन कार्यक्रम आवश्यक नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गतबहादुर शाहीले एउटा व्यक्तिले औषधी खाने र अर्कोले नखाइदिने गरेका कारण समुदायस्तरमा हात्तीपाइलेको जोखिम कायमै रहेको बताए ।
उनले अब तीन वटा पालिकालाई मात्र केन्द्रमा राखेर गरेर कार्यक्रम सञ्चालन गरिने जनाए । यस्तै हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्ने सम्पूर्ण लक्षित समुदायले औषधी नखाइदिएका कारण १३ वर्षदेखि निरन्तर औषधी खुवाउने अभियान चलिरहेको स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन दुर्गा गौतमले बताइन् ।
उनले आइडिए इम्प्याक्ट सर्भेमा फेल भएका नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकालाई विशेष फोकस गरिनेछ । ¥यापिट डाइग्नोस्टिक टेस्ट (आरडिटी)मार्फत माइक्रोफाइलेरिया फेला परेकाको फेरि राति १० बजेदेखि २ बजेसम्मको समयमा माइक्रोस्कोपबाट रक्त नमुना जाँच गरी हात्तीपाइले रोगको परजीवी भए नभएको पुष्टि गर्ने काम गरिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक केशव ज्ञवालीले बताए ।
उनले फेल भएका तीन पालिकाको नमुना जाँच गरिएकामध्ये नौ जनाभन्दा कममा माइक्रोफाइलेरिया पोजेटिभ देखिएको बताए । तर ३४ जनामा माइक्रोफाइलेरिया पोजेटिभ देखिएकाले ती पालिकामा हात्तीपाइले रोगको अवस्था भयावह देखिएको ल्याब टेक्निसियन निरीक्षक ज्ञवालीले बताए । केही समुदायले औषधी सेवन नगरिदिने गरेका कारण सबै समुदाय हात्तीपाइले रोगको जोखिममा परेको स्वास्थ्य कार्यालयको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार