Listen LIVE

पहाडी जिल्लाभन्दा बाँकेमा मातृ मृत्युदर उच्च

नेपालगञ्ज : बाँकेमा गर्भवती र सुत्केरी आमाको मृत्यु दर उच्च रहेको पाइएको छ । राज्यले आमा सुरक्षाका लागि कार्यक्रमहरू ल्याएपनि बाँकेमा आमाको मृत्युमा भने खासै कमी आएको पाइँदैन ।

बाँकेमा विभिन्न जिल्लाबाट स्वास्थ्य गम्भीर भइसकेपछि आउने गर्भवतिहरूको समेत मृत्यु भएको पाइन्छ । स्वास्थ्य कार्यालय बाँकेको तथ्यांक अनुसार, गत तीन आवमा जिल्लामा बाँकेका मात्रै ६० जना गर्भवति, सुत्केरीको मृत्यु भएको छ ।

‘आमाको मृत्युको तथ्यांक चिन्ताजनक छ’, स्वास्थ्य कार्यालय बाँकेकी पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठले भनिन्, ‘त्यसको न्यूनीकरणमा गर्भवतिको पोषण, स्वास्थ्य जाँच र आवश्यक उपचारका लागि सचेतनामा धेरै काम गर्नुपर्ने आवश्यक देखिन्छ ।’

स्वास्थ्य कार्यालय बाँकेकी पब्लिक हेल्थ नर्स श्रेष्ठका अनुसार, चालु आर्थिक बर्षको साउनमा एक महिलाको मृत्यु भईसकेको छ । आर्थिक बर्ष २०८०÷८१ मा १८, आर्थिक बर्ष २०७९÷०८० मा २० जना र आर्थिक बर्ष २०७८÷७९ मा २२ जना गर्भवति, सुत्केरी आमाको मृत्यु भएको श्रेष्ठले जानकारी दिइन् ।

बाँकेमा गत आर्थिक बर्षमा सबैभन्दा बढी स्वास्थ्य संस्थाको पहुँचमा रहेको नेपालगञ्जकै गर्भवति, सुत्केरीको मृत्यु भएको तथ्यांकमा देखिएको छ । गत आर्थिक बर्षमा मृत्यु भएका १८ जनामध्ये नेपालगञ्ज उपमहानगरपालिका ७, खजुरा गाउँपालिकाका २, डुडुवा गाउँपालिकाका २, नरैनापुर गाउँपालिका ३, राप्तीसोनारी गाउँपालिकाका २ र बैजनाथ तथा कोहलपुरका १÷१ जना रहेका छन् । बाँके भारतसँग जोडिएको सीमावर्ती जिल्ला भएकाले कतिपयको गर्भवति भारत रहँदा वा उपचारका लागि गएका बेला समेत मृत्यु भएको हुनसक्ने सम्भावना स्वास्थ्यकर्मी औंल्याउँछन् ।

बाँकेमा गत आवमा मृत्यु भएका १८ मध्ये १६ जना मधेसी र मुस्लिम समुदायका रहेको स्वास्थ्य कार्यालय बाँकेकी पब्लिक हेल्थ नर्स श्रेष्ठ बताउँछिन् । स्वास्थ्य कार्यालयले गर्भवति, सुत्केरीको मृत्यु हुँदा त्यस्ता घटनाको कारणहरू समेतका बारेमा जानकारी लिँदै आएको छ ।

‘नियमित स्वास्थ्य जाँच नगराउने, गर्भवति भएको थाहा हुने वित्तिकै स्वास्थ्य संस्थामा नजाने, स्वास्थ्यकर्मीले सुझाव दिए अनुसार स्वास्थ्य परीक्षण नगराउने प्रवृत्ति पाइन्छ’, स्वास्थ्य कार्यालय बाँकेकी पब्लिक हेल्थ नर्स श्रेष्ठ भन्छिन्, ‘उचित स्याहार सुसार, पोषण र गर्भवतिमा स्वास्थ्य समस्या देखिँदा समयमै अस्पताल नलगेका कारण पनि मातृ मृत्यु दर नियन्त्रण हुनसकेको छैन ।’

मातृमृत्यु जिल्लामा चिन्ताजनक भएकाले सबैको ध्यान पुग्न आवश्यक रहेको स्वास्थ्य कार्यालय बाँकेकी पब्लिक हेल्थ नर्स श्रेष्ठ बताउँछिन् । ‘गर्भावस्थाको शुरुमा स्वास्थ्य संस्थाबाट लेखिएको परीक्षण गर्दा रकम खर्च हुने भएकाले कतिपय आवश्यक परीक्षण नै नगराउने गरेको पाइन्छ’, उनी भन्छिन्, ‘त्यसैले गर्भवतिको सबै परीक्षण निःशुल्क गर्न र पोषणमा सहयोग पुर्याउन राज्यका निकायहरूको ध्यान जान आवश्यक छ ।’

स्वास्थ्यकर्मीहरू घरमै बच्चा जन्माउने प्रयास गरी ढिलो गरी अस्पताल पुर्याउने, कम उमेरमै विवाह गरी आमा बन्ने, विभिन्न स्वास्थ्य समस्या हुँदा चिकित्सकको नियमित परामर्श नगर्ने, स्याहार, पोषणको कमी लगायतका नै गर्भवति, सुत्केरीको मृत्युको कारण भएको उनी बताउँछिन् ।

नेपाल जनसांख्याकी तथा स्वास्थ्य सर्वेक्षण सन् २०१६ का अनुसार, बिवाहको औसत उमेर पुरुषको हकमा २१.७ बर्ष र महिलाको हकमा १७.९ बर्ष रहेको छ । तथ्यांक अनुसार, नेपालमा १७ प्रतिशत किशोरी आमा बनिसकेका हुन्छन् वा गर्भवति हुन्छन् । जसले गर्दा किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको हो ।

विश्वमा अति उच्च मातृ मृत्युदर भएका मुलुकहरूमध्ये नेपाल पनि एक हो । गर्भावस्थामा, प्रसूति अवस्थामा वा गर्भावस्था अन्त भएको ४२ दिनभित्रमा कुनै पनि कारणले हुने महिलाको मृत्युलाई मातृ मृत्यु भनिन्छ । मातृ मृत्युदर उच्च रहनुको अर्थ देशको स्वास्थ्य अवस्था अझै जटिल अवस्थामा रहेको छ । नेपाल मातृ मृत्यु अध्ययन प्रतिवेदन, २०७८ अनुसार देशका सात प्रदेशमध्ये लुम्बिनी प्रदेशमा मातृ मृत्युदर उच्च रहेको देखिएको हो । 

अध्ययन प्रतिवेदनअनुसार लुम्बिनीमा प्रति एक लाख जीवित जन्म हुँदा मातृ मृत्यु दुई सय सात रहेको छ । त्यसपछि कर्णाली प्रदेशमा एक सय ७२, गण्डकी प्रदेशमा एक सय ६१, कोशी प्रदेशमा एक सय ५७, मधेस प्रदेशमा एक सय ४०, सुदूरपश्चिम प्रदेशमा एक सय ३० र सबैभन्दा कम बागमती प्रदेशमा ९८ आमाहरूको मृत्यु भएको उक्त प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया