Listen LIVE

अमेरिकालाई पराजित गर्दै नेपाल नौ विकेटले विजयी

काठमाण्डौ : आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबारको खेलमा नेपालले अमेरिकामाथि शानदार जित निकालेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले अमेरिकालाई नौ विकेटले हराएको हो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले नटआउट शतक बनाए । भने अर्का ओपनर आशिफ शेखले अर्धशतक बनाए । 

टस जितेर शुरुमा ब्याटिङ गरेको अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले मात्र एक विकेट गुमाएर ३६ ओभर ४ बलमा पूरा गरेको हो । नेपालका लागि भुर्तेलले ११८ बलको सामना गर्दा चार छक्का र १३ चौकाको मद्दतमा नटआउट १२० रन बनाउँदै शतकीय पारी खेले । अर्का ओपनर शेखले ७२ बलको सामना गर्दै ५८ रनको अर्धशतकीय पारी खेलेका थिए ।

नेपालका लागि तेस्रो क्रममा ब्याटिङ गर्न आएका इशान पाण्डेले ३० बलको सामना गरेर २० रन थपे । 

टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३ दशमलव तीन ओभरमा अलआउट हुँदै १९५ रनमा समेटियो । एक सय ५३ रन बनाउँदा जम्मा तीन विकेट गुमाएको अमेरिकाले थप ३७ रन बनाउँदा बाँकी सात विकेट गुमायो । अमेरिकाका लागि ओपनर स्मित पटेल र सेहन जयसूर्याले अर्धशतकीय पारी खेले । 

अमेरिकालाई राम्रो सुरुआत दिलाउने क्रममा पटेलले ८९ बलमा तीन छक्का र आठ चौकाको सहयोगमा ८३ रन बनाए भने जयसूर्याले ५२ बल खेल्दै एक छक्का र पाँच चौकाको सहयोगमा ५० रन जोडे । साथै मिलिन्द कुमारले २८ र हर्मित सिंहले १४ रन बनाए भने अन्य कुनै ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

कुनै समय बलियो अवस्था रहेको अमेरिकाको पारीलाई सस्तैमा समेट्ने क्रममा दीपेन्द्र सिंह ऐरीले चार र सोमपाल कामीले दुई विकेट लिए ।  सन्दीप लामिछाने र गुलशन झाले समान एकएक विकेट लिए ।

नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा योसँगै तीन खेल सकिएका छन् । एक खेलमा नेपाल विजयी हुँदा दुई खेलमा स्कटल्याण्ड विजयी भएको छ । पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।

आइसिसी क्रिकेट विश्वकप लिग–२ को तालिकामा २६ खेल खेल्दा सातौँ स्थानमा रहेको नेपालले २० अङ्क बनाएको छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ ।

साथै अमेरिका २६ खेलबाट १८ मा जित, सातमा हारसँगै ३६ अङ्कका साथ दोस्रो स्थानमा रहँदा स्कटल्याण्ड पहिलो स्थानमा छ । स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, आठमा हार र छ वटा खेल अनिर्णित हुँदा कूल ३८ अङ्क जोडेको छ ।

प्रतिक्रिया