Listen LIVE

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा

एजेन्सी : भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा मारेका छन्। नक्कली नेपाली नोट छपाइ गरी नेपालमा पैठारी गर्ने अन्तर्राष्ट्रिय गिरोहमा संलग्न तीन नेपालीसहित १० जनालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको छ।

बिहार राज्यको सीतामढी जिल्लाअन्तर्गत मेजरगञ्ज क्षेत्रमा पूर्वी चम्पारण प्रहरी र स्पेशल टास्क फोर्स (एसटीएफ) ले संयुक्त रूपमा गरेको कारबाहीमा अत्याधुनिक प्रविधियुक्त नक्कली नोट छाप्ने कारखाना फेला पारेर नष्ट गरिएको भारतीय प्रहरीले जनाएको छ।

छापाको क्रममा प्रहरीले २५ लाख रुपैयाँ बराबरका नेपाली नक्कली नोट, १ लाख ४० हजार रुपैयाँ सक्कली नेपाली मुद्रा, १ हजार ८५० रुपैयाँ बराबरका नक्कली भारतीय नोट, हाइटेक प्रिन्टिङ मेसिन, नोट छाप्न प्रयोग हुने विशेष २२ बण्डल सादा कागज, विभिन्न रसायनलगायतका सामग्री बरामद गरेको बिहार प्रहरीले जनाएको छ। नक्कली नोट ओसारपसारमा प्रयोग गरिएका तीन वटा मोटरसाइकल र एउटा कार पनि नियन्त्रणमा लिइएको छ।

प्रारम्भिक अनुसन्धानका अनुसार उक्त गिरोहले खुला नेपाल–भारत सिमानाको फाइदा उठाउँदै निर्वाचनको समयलाई लक्षित गरी नेपालमा नक्कली नोट तस्करी गर्ने र बजारमा बिक्री वितरण गर्ने योजना बनाएको खुलेको छ।

निर्वाचनजस्तो संवेदनशील अवधिमा आर्थिक अराजकता सिर्जना गर्ने र राजनीतिक गतिविधिमा असर पार्ने उद्देश्यले योजनाबद्ध रूपमा यो गतिविधि गरिएको हुनसक्ने आशंका भारतीय प्रहरीले गरेको छ।

नक्कली नोटको कारोबारले राष्ट्रिय सुरक्षा, आर्थिक स्थायित्व र निर्वाचन प्रक्रियामा गम्भीर खतरा उत्पन्न गर्ने भएकाले घटनालाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाइएको भारतीय प्रहरीले जनाएको छ। गिरोहसँग सम्बन्धित नेपाल र भारत दुवै देशमा सक्रिय अन्य सदस्यहरूको खोजी तीव्र पारिएको बताइएको छ।

प्रतिक्रिया