दाङ : दाङमा लोकल माहुरीको व्यवसायिक पालन बढ्दै गएको छ । लोकल माहुरीको व्यवसायिक पालनबाट राम्रो आम्दानी लिन सकिने भएपछि जिल्लाको पहाडी क्षेत्रमा जङ्गलमा पाइने सेरेना माहुरीको पालन बढ्दै गएको हो ।
त्यहीमध्येका एक हुन्, बंगलाचुली गाउँपालिका–४ गहतेरा निवासी डाँसबहादुर डाँगी । डाँगीले विगत १० वर्षदेखि स्थानीय सेरेना जातको माहुरीको व्यावसायिक रूपमा पालन गर्दै आएका छन् । जङ्गलमा रुख र भिरमा बस्ने माहुरीलाई घरमा व्यवस्थित रूपमा घार निर्माण गरेर पाल्दै आएका छन् ।
जङ्गलबाट खोजेर घरमा ल्याउँदै पाल्ने गरेका डाँगीले अहिले करिब ४०–५० घार माहुरी पाल्ने गरेको बताउँछन् । पहाडी क्षेत्रमा चिउरी लगायतका विभिन्न फलफूलका बिरुवा हुने भएकाले चरणको समस्या नहुने र लोकल माहुरीबाट राम्रो आम्दानी लिन सकिने बताए ।
कुनै दिन शून्य घारबाट सुरु गरेको माहुरीलाई बढाउँदै डेढसयसम्म पुर्याएको भन्दै डाँगीले भने, “जङ्गल क्षेत्रमा भएकाले माहुरीलाई समय पनि दिनुपर्छ तर पछिल्लो समय बाहिरी काममा पनि जोडिँदा घरमा समय दिन नपाउँदा माहुरीको घारको संख्या घटेका छन् ।“ अहिले करिब ५० वटा माहुरीका घार छन् । आपूm नहुँदा पछिल्लो समय घरमा माहुरी श्रीमतीले गोमाले हेर्ने गरेको उनले बताए । उनका अनुसार कात्तिक महिनामा निकालेको मह १२ देखि १३ सय रुपैयाँ प्रतिकिलोमा बिक्री हुने गर्दछ ।
यसैगरी बंगलाचुली गाउँपालिका–२ मर्पेसका सुरज विश्वकर्माले पनि स्थानीय सेरेना जातको माहुरी पालन गर्दै आएका छन् । जङ्गलबाट घरमा ल्याएरका व्यवसायिक रूपमा पालन गर्दै आएका विश्वकर्माले मह विक्रीबाट राम्रो आम्दानी भइरहेको बताउँछन् । व्यवसायिकरूपमा पाल्ने माहुरीभन्दा स्थानीय जातको माहुरीको मह स्वास्थ्यका लागि फाइदाजनक हुने भएकाले बिक्रीमा समस्या नभएको उनले बताए ।
मह विक्रीमा समस्या नहुने राम्रो आम्दानी भइरहेकाले अहिले भएका १६ घार माहुरीलाई बढाउँदै २५–३० घारसम्म पुर्याउने सोच रहेको बताउँछन् । उनले अहिले वार्षिकरुपमा ६० देखि ७० केजीसम्म बिक्री हुने गरेको बताउँछन् ।
प्राकृतिक रूपमा माहुरीले उत्पादन गर्ने मह शुद्ध र पोषिलोसँगै चिनीको कुनै प्रयोग नहुने भएकाले उपभोक्ताले मह मन पराउने गरेको उनले बताए । “लोकल माहुरीको महको माग बढी हुने भएकाले घार संख्या बढाउँदै लैजाने सोच छ,“ उनले भने । महको आम्दानीबाट घरखर्च चलाउन सहज हुने भएपछि व्यवसायलाई विस्तार गदैै २५–३० घारसम्म पुर्याउने लक्ष्य रहेको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार