Listen LIVE

बबई नदीमा १० हजार माछाका भुरा छोडियो

बर्दिया : बर्दियाको बबई नदीमा दस हजार माछाका भुरा छोडिएको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले गुलरिया नगरपालिका–४ स्थित जब्दीघाटमा माछाका भुरा छोडेको हो ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख कमला अधिकारीले जलवायु परिवर्तनको प्रभाव नदी, नाला, सिमसार क्षेत्र र जलचर प्राणीमा देखिएको हुनाले त्यसको प्रभाव कम गर्न माछाका भुरा नदीमा छोडिएको बताइन् ।

उनले अनियमित वर्षा, नदीको बहावमा आउने परिवर्तन, बाढी तथा खडेरीले माछाको प्राकृतिक बासस्थान र प्रजनन प्रक्रियामा प्रतिकूल असर पु–याइरहेको बताइन् । अव्यवस्थित तरिकाले माछा मार्ने प्रवृत्ति, विषादी तथा विद्युतीय करेन्टको प्रयोग, नदी तथा जलाशयमा फोहोर र प्रदूषण विसर्जन तथा जथाभावी उत्खननले माछाको प्राकृतिक बासस्थान विनाश भई माछाको अस्तित्व सङ्कटमा रहेको प्रमुख अधिकारीको भनाइ छ ।

जिल्ला मत्स्य व्यवसाय सङ्घका अध्यक्ष गणेश लम्सालले नदीमा अव्यवस्थित रूपमा माछा मार्ने चलन रहेको बताउँदै माछाका भुरा नदीमा छोड्दा रैथाने प्रजातिका माछा संरक्षणमा सहयोग पुग्ने बताए ।

प्रतिक्रिया