नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको सहयोग तथा पूर्व खेलाडी समाज, बाँकेको आयोजनामा सम्पन्न प्रथम मेयर कप महिला तथा पुरुष फाइभ ए साइड हक्की प्रतियोगिताको उपाधि पुरुषतर्फ महेन्द्र पार्क क्लब र महिलातर्फ त्रिभुवन चोक क्लबले जितेका छन् ।
नेपालगञ्जमा आइतबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ महेन्द्र पार्क क्लबले बाँके गाउँ क्लबलाई १–० को गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । यसै गरी, महिलातर्फको प्रतिस्पर्धामा त्रिभुवन चोक क्लबले बाँके गाउँ क्लबलाई ३–१ को गोल अन्तरले पाखा लगाउँदै पहिलो स्थान हासिल गर्न सफल भयो ।
प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेका मोहम्मद अनस अन्सारी पुरुषतर्फ र तनीसा अन्सारी महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भए । यसैगरी, प्रतियोगितामा सर्वाधिक आठ गोल गर्न सफल अनन्या बर्नवाल महिलातर्फ र चार गोल गरेका रेहान अन्सारी पुरुषतर्फ सर्वाधिक गोलकर्ता घोषित भए ।
विजयी तथा उपविजेता टोली र खेलाडीहरूलाई पूर्व खेलाडी समाजका अध्यक्ष प्रकाशबहादुर श्रेष्ठलगायतका अतिथिहरूले पुरस्कार, प्रमाणपत्र, पदक तथा ट्रफी वितरण गरे ।
नेपालगञ्जमा पहिलो पटक आयोजना गरिएको प्रथम मेयर कप महिला तथा पुरुष फाइभ ए साइड हक्की प्रतियोगिता–२०८३ गत बिहीबारदेखि शुरु भएको थियो । प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ चार गरी कुल आठ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार