Listen LIVE

कोहलपुरका किसान बेसार खेतीतर्फ आकर्षित

नेपालगञ्ज : बाँदर र बँदेलले धान, मकै, गहुँ र तोरीलगायतका बाली नष्ट गर्न थालेपछि बाँकेको कोहलपुर नगरपालिका–७, सल्यानी टोलका किसानहरु बेसार खेतीतर्फ आकर्षित भएका छन् । 

जङ्गली जनावरबाट हैरान भएपछि उनीहरुले जनावरबाट जोगाउन कठिन हुने परम्परागत अन्नबाली छोड्दै बेसार खेतीतर्फ आकर्षित भएका हुन् । जङ्गलसँग जोडिएको बस्तीका किसानका लागि बेसार खेती अहिले वैकल्पिक आम्दानीको माध्यम बनेको छ । अन्य बालीमा जस्तो जङ्गली जनावरले क्षति नगर्ने र बिक्रीका लागि बजारसमेत गाउँमै उपलब्ध हुने भएकाले बेसार खेती विस्तार हुँदै गएको स्थानीय किसान बताउँछन् ।

स्थानीय सरस्वती बुढाथोकीका अनुसार धान र मकैको तुलनामा बेसार खेतीमा लागत र श्रम कम लाग्ने तथा आम्दानी राम्रो हुने गरेको छ । रासायनिक मलको सट्टा जङ्गलको घाँसपात र गोठेमल प्रयोग गरेर खेती गर्न सकिने भएकाले पनि किसान यसतर्फ आकर्षित भएको उनको भनाइ छ ।

यस्तै अर्का स्थानीय पूर्णकला गिरीले गत वर्ष चार कट्ठा जमिनमा बेसार खेती गरेकी थिइन् । उत्पादन र आम्दानी राम्रो भएपछि यस वर्ष थप एक कट्ठामा खेती बिस्तार गरेकी छन् । गत वर्ष २२ क्विन्टल बेसार उत्पादन गरेकी उनले यस वर्ष ३० देखि ३५ क्विन्टल उत्पादन गर्ने लक्ष्य लिएको बताइन् । 

'धान, मकै, गहुँ र तोरी बाँदर तथा बँदेलले सखाप पार्छन् । बेसारलाई भने जङ्गली जनावरले क्षति गर्दैनन् । त्यसैले जङ्गलछेउको जमिनमा बेसार खेती गरेका छौँ,' गिरीले भनिन् ।

उनले काँचो बेसार, बिउ र पिँधेको बेसार बिक्री गर्दै आएकी छन । उनका अनुसार बेसारको बिउ प्रतिक्विन्टल छ हजार रुपैयाँ, काँचो बेसार प्रतिक्विन्टल तीन हजार रुपैयाँ र पिँधेको बेसार प्रतिकिलो तीन सय रुपैयाँमा बिक्री हुने गरेको छ । बेसार बिक्रीबाट प्राप्त आम्दानीले घरपरिवारका लागि आवश्यक खाद्यान्न तथा अन्य सामग्री खरिद गर्न सहज भएको उनले बताइन् ।

सोही प्रकारले जङ्गली जनावरबाट हुने क्षतिको मारमा परेकी स्थानीय मनीषा घर्तीमगरले मकै खेती गर्दै आएको जमिनमा आगामी वर्षदेखि बेसार लगाउने तयारी गरेकी छन् । उनले दुई कट्ठामा लगाएको मकै बाँदर र बँदेलले नष्ट गरेपछि अब खेतीनै परिवर्तन गर्ने निष्कर्षमा पुगेको बताइन् । 

स्थानीय सुकी डाँगीले पनि चार कट्ठा जमिनमा बेसार खेती गरेकी छन् । जङ्गली जनावरको डर नहुने र बिक्रीका लागि व्यापारी गाउँमै आउने भएकाले अन्य बालीको तुलनामा बेसार खेती सहज लागेको उनले बताइन ।

बेसार खेतीसँगै स्थानीय महिलाले प्रशोधन र बजारीकरणमा समेत सक्रियता देखाएका छन् । गाउँमै बेसार पिँध्ने मिल सञ्चालनमा ल्याइएको छ भने बेसार छिल्ने मेसिनसमेत भित्र्याइएको छ । स्थानीय महिलाको समूहले सञ्चालन गरेको मिलमा समूहका सदस्यलाई विशेष छुटको व्यवस्था गरिएको मनकुमारी थापाले बताइन् ।

उनका अनुसार बेसार खन्नासाथ व्यापारी गाउँमै आएर खरिद गर्ने गरेका छन् । काँचो बेसार बिक्री नभए बिउका रूपमा राख्न र आवश्यकताअनुसार पिँधेर बिक्री गर्न सकिने भएकाले उत्पादन खेर जाने जोखिमसमेत कम छ ।

तराई भू–परिधि कार्यक्रम (ताल) को सहयोगमा किसानले बेसार खेतीसम्बन्धी जानकारी र सीप पाएपछि खेती विस्तार गर्न थालेका हुन् । जङ्गली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि वैकल्पिक खेतीका रूपमा बेसार रोजेको स्थानीयको भनाइ छ ।

पूर्णकलाका अनुसार सल्यानी टोलका करिब २० घरपरिवारले व्यावसायिक रूपमा बेसार खेती गर्दै आएका छन् । यस वर्ष गाउँमा एक सय क्विन्टलभन्दा बढी बेसार उत्पादन हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया