नेपालगञ्ज : सरकारले भारतबाट कुखुरा, चल्ला र अण्डा आयातमा प्रतिबन्ध लगाए पनि अवैधरूपमा तस्करी जारी रहेकाले बाँके जिल्ला बर्डफ्लुको उच्च जोखिममा परेको सरोकारवालाले बताएका छन् ।
नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले भारतबाट लुकीछिपी भित्रिने कुखुरा, चल्ला तथा अन्य पक्षीजन्य वस्तुका कारण बाँकेमा बर्डफ्लु फैलिने जोखिम अत्यधिक बढेको बताए ।
उनले कुखुरा, चल्ला र अण्डाको अवैध आयात पूर्णरूपमा रोक्नुपर्ने माग गर्दै मुख्य सीमा नाकासँगै खुला नाकामा समेत निगरानी कडा बनाउन आग्रह गरे ।
श्रेष्ठले भने, 'मुख्य नाकासँगै खुला सीमा क्षेत्रमा कडाइ गरिएन र जिल्लामा आवश्यक सचेतना अपनाइएन भने बर्डफ्लु भित्रिन धेरै समय लाग्ने छैन । त्यसबाट ठुलो क्षति हुन सक्छ ।'
नेपालगञ्जका नागरिक अगुवा हेमन्तराज काफ्लेले भारतका विभिन्न स्थान र नेपालका ११ जिल्लामा बर्डफ्लु देखिइसकेको अवस्थामा बाँकेमा पनि जोखिम बढेकाले सम्बन्धित निकायले विशेष सतर्कता अपनाउनुपर्ने बताए ।
यता, बाँकेका कुखुरापालक किसान तथा व्यवसायीले पनि अवैध आयात जारी रहे बर्डफ्लु भित्रिने र त्यसबाट मानव स्वास्थ्यसँगै कुखुरापालन व्यवसायमा गम्भीर असर पर्ने चिन्ता व्यक्त गरेका छन् ।
जिल्लाकै ठुलो कुखुरा फार्ममध्ये एक रजा ग्रुपका सञ्चालक मुख्तार राईले भारतबाट हुने अवैध कुखुरा आयात रोक्न नसके बर्डफ्लु भित्रिने जोखिम बढ्ने बताए ।
'बर्डफ्लु भित्रियो भने मानव स्वास्थ्यमा असर पर्नुका साथै करोडौँ रुपियाँ लगानी भएको कुखुरापालन व्यवसायसमेत धराशायी हुन सक्छ,' उनले भने ।
कादरी पोल्ट्री फार्मका सञ्चालक मुनिजर खानले पनि बर्डफ्लु नियन्त्रणका लागि भारतबाट हुने कुखुराको अवैध आयात रोक्नु अपरिहार्य भएको बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले मुख्य सीमा नाकामा खटिएका सुरक्षा निकाय र क्वारेन्टाइन कार्यालयलाई कुखुरा तथा गुणस्तरहीन माछाको अवैध आयात रोक्न कडा निर्देशन दिइएको जानकारी दिए ।
उनले बर्डफ्लुको जोखिम बढ्दै गएकाले सीमा क्षेत्रमा निगरानी र नियन्त्रणलाई अझ प्रभावकारी बनाइएको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार