सल्यान : जबरजस्ती करणी उद्योग मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई सल्यान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका वडा नं–५ डाँडासल्लेका ३४ वर्षीय भूप बहादुर कामी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
उच्च अदालत सुर्खेतको २०८१ असोज १२ गतेको फैसलाले उनलाई तीन वर्ष कैद र ३० हजार रुपियाँ जरिवानाको सजाय सुनाएको थियो । त्यसयता फरार रहँदै आएका उनी करिब २० महिनापछि पक्राउ परेका हुन् ।
फरार प्रतिवादीको खोजी गर्ने क्रममा प्राप्त गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लुहाम र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको संयुक्त टोलीले असार १२ गते उनको आफ्नै घरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका कामीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि सल्यान जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।
प्रहरीले अदालतबाट सजाय तोकिएर फरार रहेका प्रतिवादीको खोजी तथा फैसला कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ ।
फरार प्रतिवादीलाई कानुनी दायरामा ल्याउने अभियानलाई आगामी दिनमा पनि निरन्तर र प्रभावकारीरूपमा सञ्चालन गरिने प्रहरीले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार