नेपालगञ्ज : जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८२–८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने २३ हजार ४५२ सवारी साधनमाथि कारबाही गरेको छ । त्यसबाट एक करोड ९५ लाख ७९ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने २३ हजार ४५२ विभिन्न सवारी साधनलाई कारबाही गरिएको बताए । उनले उक्त कारबाहीबाट एक करोड ९५ लाख ७९ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको जनाए ।
मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ८६५ चालकबाट चार लाख ६४ हजार ५०० रुपियाँ तथा तीव्र गतिमा सवारी चलाउने ५८० चालकबाट तीन लाख तीन हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरिएको उनले जानकारी दिए ।
गत आर्थिक वर्षमा बाँकेमा ७ सय ७७ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ६० जनाको मृत्यु भएको छ, जसमध्ये ४२ पुरुष, १२ महिला र ६ बालक रहेका छन् । यस्तै १७५ जना गम्भीर र एक हजार १२१ जना सामान्य घाइते भएका छन् ।
ट्राफिक कारबाहीका साथै सचेतना अभियानलाई समेत तीव्र बनाइएको प्रनि शाहीले जानकारी दिए । उनका अनुसार एक वर्षमा एक हजार ९२ पटक सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रमबाट ८९ हजार २८० जना लाभान्वित भएका छन् ।
आर्थिक वर्षभर ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि विभिन्न सुधारात्मक अभियान सञ्चालन गरिएको उनले जानकारी दिए । नेपालगञ्ज र कोहलपुर क्षेत्रमा अवैध पार्किङ हटाएर एकीकृत बसपार्क सञ्चालनमा ल्याइएको, कोहलपुर चौराहाको करिब ५०० मिटर क्षेत्रलाई …नो पार्किङ जोनÚ घोषणा गरिएको तथा विभिन्न स्थानमा १५० वटा ट्राफिक सचेतनामूलक बोर्ड राखिएको र सडक डिभिजनसँगको समन्वयमा १५ स्थानमा जेब्रा क्रसिङ निर्माण पनि सुरु गरिएको उनले बताए ।
कार्यालयले ६ वटा ट्राफिक क्यामेरा जडान गरेको, २२ वटा ई–ड्राइभ गाडीमा एसओएस बटन तथा ३६ वटा लामो दूरीका बसमा सीसीटीभी क्यामेरा जडान गराएको जनाएको छ । पैदल यात्रुको सुरक्षाका लागि रिफ्लेक्टिभ आर्मब्यान्ड वितरण तथा सवारीसाधनमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने अभियान पनि सञ्चालन गरिएको छ ।
नम्बरप्लेट मेटिएका वा नभएका दुई हजार ७१९ सवारीसाधनमा नम्बर पुनर्लेखन गरिएको छ । संयुक्त अनुगमनको क्रममा १ हजार ८०० वटा अवैध ग्याप सिट हटाइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा ई–रिक्सा व्यवस्थापन अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ । अभियानअन्तर्गत दैनिक ५०० भन्दा बढी अटो जाँच, अवैध रूपमा सञ्चालित ९३९ ई–रिक्सामाथि कारबाही, चालकहरूको सूचीकृत प्रणाली लागू गर्ने तयारी तथा निःशुल्क लाइसेन्स तयारी कक्षा सञ्चालन गरिएको छ ।
लागू पदार्थ सेवन गरी सवारी चलाउने २५ शंकास्पद चालकको परीक्षण गर्दा १४ जना पोजेटिभ देखिएका थिए । उनीहरूमाथि कानुनी कारबाही अघि बढाइएको छ भने तीन जना चालकको लाइसेन्स निलम्बनका लागि सिफारिस गरिएको कार्यालयले जनाएको छ ।
यस अवधिमा ५९ वटा मोडिफाइ मोटरसाइकलका साइलेन्सर पाइप नियन्त्रणमा लिइएको, १७ वटा ईभी र ९० वटा अन्य सवारीसाधनमा आफुखुसी नम्बर प्लेट परिवर्तन गरेको पाइएपछि कारबाही गरिएको छ । यस्तै, २३५ वटा म्याजिक भ्यानका यात्रु झुन्ड्याउने फलामे डण्डी काटिएको, ५१ वटा ओभरलोड सवारी नियन्त्रणमा लिइएको तथा १९ वटा ट्रक यातायात व्यवस्था कार्यालय पठाइएको छ ।
सार्वजनिक सवारीका करिब २४० चालक तथा सहचालकको स्वास्थ्य परीक्षण, २३० वटा सवारीसाधनको यान्त्रिक परीक्षण, १ हजार ४३८ वटा साइकल तथा अन्य सवारीमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने, चोरी भएको मोटरसाइकल फेला पारेर धनीलाई बुझाउने लगायतका कार्य पनि गरिएको कार्यालयले जनाएको छ ।
यसैगरी नागरिक सुनुवाइ, ट्राफिकसम्बन्धी नाटक, सशस्त्र प्रहरी तथा ई–रिक्सा चालकलाई सचेतना कार्यक्रम, कालो सिसा तथा अवैध स्टिकर हटाउने अभियान लगायतका कार्यक्रम सञ्चालन गरी ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
अघिल्लो आव २०८१–८२ मा ३७ हजार ४३५ सवारीसाधन कारबाही हुँदा तीन करोड २७ लाख पाँचसय रुपैयाँ राजस्व सङ्कलन भएको थियो । उक्त वर्ष ८५२ वटा दुर्घटना हुँदा ७० जना नागरिकको ज्यान गएको ट्राफिक प्रहरीको तथ्याङ्क छ ।
तथ्याङ्कअनुसार आव २०८०–८१ मा ३३ हजार ४६५ सवारीसाधन कारबाहीमा परेका थिए । जसबाट दुई करोड ६१ लाख ७१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । उक्त वर्ष १५८ वटा सवारी दुर्घटना परेका थिए । ६६ जना नागरिकको ज्यान गएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार