नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले देश, समाज तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका तथा जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका राष्ट्रिय व्यक्तित्वहरूको सम्मानस्वरूप पुनःनिर्माण गरिएका ऐतिहासिक सालिकहरूको आज एक कार्यक्रमबीच अनावरण गरेको छ ।
नगर प्रमुख प्रशान्त विष्टले आज बिहान विभिन्न स्थानमा स्थापित ६ वटा सालिकको अनावरण गरेका हुन् । संविधान पिता, नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको अर्ध कदको नयाँ सालिक निर्माण गरिएको हो भने अन्य क्षतिग्रस्त पुराना सालिकहरूको पुनःनिर्माण तथा मर्मत गरिएको छ । यस सम्पूर्ण परियोजनामा करिब ७८ लाख रुपैयाँ खर्च भएको उपमहानगरपालिकाले जनाएको छ ।
नेपालमा संविधानसभाबाट संविधान जारी हुँदा प्रधानमन्त्री रहेका नेपालगञ्जका स्वर्गीय कोइरालाको अर्ध कदको सालिक करिब २३ लाख रुपैयाँको लागतमा ट्राफिक चोक नजिक रहेको उद्यानमा निर्माण गरिएको छ ।
त्यसैगरी, गणेशमान चोकस्थित नेपाली कांग्रेसका नेता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर स्वर्गीय गणेशमान सिंहको पूर्ण कदको सालिक ३ लाख ३१ हजार रुपैयाँको लागतमा मर्मत गरी पुनःस्थापना गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाका अनुसार नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको पूर्ण कदको सालिक ९ लाख ७५ हजार रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको हो ।
यस्तै, धम्बोझी चोकस्थित स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाहको पूर्ण कदको सालिक ९ लाख ८२ हजार रुपैयाँमा निर्माण सम्पन्न गरिएको छ भने पुष्पलाल चोकस्थित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक स्वर्गीय पुष्पलाल श्रेष्ठको सालिक ९ लाख ८७ हजार रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको छ ।
यसैगरी, न्युरोडस्थित सहिद सेतु विकको अर्ध कदको सालिक ४ लाख ८३ हजार रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको छ । विकले २०६२/६३ को जनआन्दोलनमा सोही ठाउँमा सहादत प्राप्त गरेकी थिइन् ।
उपमहानगरपालिकाका अनुसार गणेशमान सिंहको सालिक मर्मत गरिएको हो भने अन्य सबै सालिक नयाँ निर्माण गरिएका हुन् । कोइरालाको सालिक रहेको उद्यान बाहेक अन्य सबै सालिक अवस्थित चोकहरूको सौन्दर्यीकरणका लागि थप १८ लाख रुपैयाँ खर्च गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिए ।
सुशील कोइराला र राजा वीरेन्द्रको सालिक बाहेक अन्य सालिक भदौ २३ र २४ गते भएको 'जेनजी' विद्रोहका क्रममा क्षतिग्रस्त भएका थिए । राजा वीरेन्द्रको सालिक भने दोस्रो जनआन्दोलनका क्रममा हटाइएको थियो ।
सालिक अनावरण कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सबै सालिक अनावरण पश्चात् संक्षिप्त प्रतिक्रिया दिँदै नगर प्रमुख विष्टले लामो समयदेखि पुनःस्थापना हुन बाँकी रहेका तथा विभिन्न आन्दोलनका क्रममा क्षतिग्रस्त भएका ऐतिहासिक सालिकहरू क्रमशः पुनःस्थापना गरी अनावरण गरिएको बताए ।
उनले इतिहास, संस्कृति र समाजका विभिन्न कालखण्डसँग जोडिएका व्यक्तित्वहरूको सम्मान गर्नुका साथै सार्वजनिक सम्पदाको संरक्षण गर्नु उपमहानगरपालिकाको प्रमुख दायित्व भएको उल्लेख गरे ।
'इतिहास हाम्रो साझा सम्पत्ति हो । यसलाई संरक्षण गर्नु नेपालगञ्ज उपमहानगरपालिकाको दायित्व र कर्तव्य हो,' नगर प्रमुख विष्टले भने ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार