सल्यान : सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । शनिबार बिहान शारदा नगरपालिकाको श्रीनगरदेखि छत्रेश्वरी गाउँपालिकाको दमाचौरतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
छत्रेश्वरी गाउँपालिका–१ स्थित भानुभक्त माध्यमिक विद्यालय दमाचौरको निर्माण सामग्री बोकेर जाँदै गरेको ट्याक्टर मोख्ला मेला लाग्ने स्थानभन्दा केही माथि बागचौर–१० को भाटभिटेमा बिहान ७ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा परेर ट्याक्टर चालक शारदा नगरपालिका–१३ निवासी २५ वर्षीय वसन्त बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।
ट्याक्टर सडकबाट ५० मिटर तल खसेको र चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनापछि इलाका प्रहरी कार्यालय थारमारे, सल्यानबाट प्रहरी नायब निरीक्षक रत्नलाल खड्काको कमाण्डमा ६ जनाको प्रहरी टोली खटिएको थियो ।
यसअघि शुक्रबार पनि जिल्लाको दार्मा गाउँपालिका–२ भुसखोलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको थियो भने दुई जना युवा घाइते भएका थिए । लगातार ट्याक्टर दुर्घटना हुन थालेपछि जिल्लामा सडक सुरक्षाप्रति चासो बढेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार