बर्दिया : बर्दियामा असारको तेस्रो सातासम्म ३० प्रतिशत मात्र धान रोपाइँ भएको छ । असार १५ मा पानी परेपछि धमाधम धान रोपाइँ शुरु भएको बर्दिया जिल्लामा हालसम्म ३० प्रतिशत धान रोपाइँ भएको हो ।
बर्दियाको राजापुर र गेरुवा गाउँपालिकामा जेठको अन्तिम सातादेखि नै धान रोपाइँ शुरु भएको थियो । लामो समयको खडेरीका कारण सिँचाइ नहुँदा ती स्थानमा रोपाइँले गति लिन सकेको थिएन । रोपेको गरा सिँचाइ अभावमा चिरा पर्न थालेपछि रोपाइँ सुस्त भएको थियो । पानी परेपछि बर्दिया जिल्लाभरि धान रोपाइँले तीव्रता पाएको छ ।
नदीमा पानीको मात्रा बढेपछि बबई सिँचाइ आयोजना, राजापुर सिँचाइ व्यवस्थापन कार्यालयले पानी धेरै छोडेका छन् । सिँचाइ नपुगेका स्थानमा किसानले भूमिगत पानीबाट सिँचाइ गरी धान रोपिरहेका छन् ।
बर्दिया जिल्लामा पानी परेपछि तीव्र गतिमा धान रोपाइँ भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका सूचना अधिकारी फिर्तुमान चौधरीले बताए । उनले सबैभन्दा बढी राजापुर र गेरुवामा धान रोपाइँ भएको बताउँदै बर्दिया जिल्लाभरि आजसम्ममा ३० प्रतिशत धान रोपाइँ सकिएको बताए । असार मसान्तसम्म अधिकांश क्षेत्रमा धान रोपेर सकिने उनको भनाइ छ ।
बर्दियामा भूमिगत सिँचाइबाट धान रोप्ने किसान भने विद्युत्को समस्याले हैरान छन् । पटक पटक विद्युत् जाने र भोल्टेज नआउने समस्याले गर्दा रोपाइँ प्रभावित भएको छ । धान रोप्ने समयमा विद्युत् अनियमित हुँदा समस्या परेको गुलरिया नगरपालिका–२, पण्डितपुरका कृष्ण आचार्यले बताए । उनले भने, 'खेतमा खेताला लगाएर विद्युत् कुरेर बस्नुपर्ने अवस्था आएको छ ।'
एकीकृत कृषि तथा पशुपन्छी कार्यालय बर्दियाका प्रमुख कमला अधिकारीले बर्दियामा करिब ५० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार