Listen LIVE

धान रोपाइँमा व्यस्त कञ्चनपुरका कृषक

कञ्चनपुर : असार महिना लागेसँगै कञ्चनपुरमा किसानहरू खेतमा व्यस्त हुन थालेका छन् । नहरको सिँचाइ सुविधा पुगेका क्षेत्रमा किसानहरू अहिले धान रोपाइँमा व्यस्त हुन थालेका हुन् ।

बेलडाँडीका स्थानीय ममता उपाध्याय अहिले धान रोपाइँमा व्यस्त छिन् । यस वर्ष समयमै मनसुन सक्रिय भएकाले रोपाइँ सुरु गरिएको उनले बताइन् । धानको बिउ पनि तयार भएकाले कृषकहरू रोपाइँमा व्यस्त हुन थालेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका, बेलडाँडी गाउँपालिका र बेलौरीमा नहरको सुविधा पुगेको छ । अहिले यहाँका किसानहरू कोही प्रविधिको प्रयोगले त कोही हल गोरुले बिहानै उठेर खेतमा धान रोपाइँ गर्न थालेका छन् ।  

कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तारा लामा तामाङले यस वर्ष धान रोपाइँको काम चाँडै सम्पन्न हुने बताइन् । धान रोप्नका लागि लगाइएको बिउ तयार भएपछि असार पहिलो साता नै धान रोपाइँ गरिएको उनले बताइन् ।

बेदकोट नगरपालिका ४ का स्थानीय कृषक राधा जोशी परिवारसँग अहिले धान रोपाइँमा व्यस्त देखिन्छन् । लिङ्गा क्षेत्र भएर आउने पानीले धान रोपाइँम भइरहेको उनले बताइन् ।  वेदकोटका किसोर भट्टले यस वर्ष धान रोपाइँ चाँडो सुरु गरिएको बताए ।

यस्तै, जिल्लाको कृष्णपुर, वेदकोट, लालझाँडी, पुनर्वास, दोधाराका कृषकहरू बोरीड्डको सहायताले धान रोपाइ गर्दै आएका छन् । दोधारा चाँदनी नगरपालिका २ का कृषक धनी जोशीले २ बिघा क्षेत्रमा धान रोपाइँ गर्दै आएकी छन् । बोरीड्डको पानीले धान रोपाइँ सुरु गरिएको उनले बताइन् । विगतमा हलगोरुको सहायताले धान रोप्दै आएकी उनी अहिले ट्याक्टरको प्रयोग गर्दै आएकी छन् ।

बेलौरी नगरपालिका वडा नम्बर ९ का कृषक सुरेश चौधरी परिवारसँगै साता दिनदेखि धान रोपाइँमा व्यस्त छन् । “महेन्द्रनगरमा दुई बिघा जमिन अधियाँ बनाएर परिवारसँगै धान रोपाइँ गर्दैछौँ,’’ उनले भने, ‘‘आफ्नो रोपाइँ पनि छिट्टै सुरु गर्छु धान रोप्न भ्याइनभ्याइ छ ।’’

कञ्चनपुरमा कुल खेतीयोग्य जमिन ५९ हजार ६०२ हेक्टर छ । जिल्लामा ४८ हजार ४ सय ९६ हेक्टरमा धान खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ ।

यहाँका कृषकहरूले राधा चार, सर्जुबाउन्न, सुख्खा धान, सावामन्सुली, बहु गुणी, लगायत प्रजातिको धान रोपाइँ गर्दै आएका छन् । यस वर्ष जिल्लामा बिउ उत्पादन गर्ने कृषि सहकारीहरूलाई ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउदले बताए ।

प्रतिक्रिया