बर्दिया : राष्ट्रिय गौरवको आयोजना बबई सिँचाइ आयोजनाले वार्षिक लक्ष्यको ९८ प्रतिशत प्रगति हासिल गरेको छ । दुई वर्षभित्र आयोजनाको सम्पूर्ण काम सकाउने लक्ष्यसाथ अगाडि बढेको आयोजनाले वार्षिक प्रगति ९८ प्रतिशत पु¥याएको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ मा आयोजनाले छ किलोमिटर मूल नहर निर्माण गरेको छ । १६ किलोमिटर शाखा र प्रशाखा नहर निर्माण गरेको छ भने यस वर्ष एक हजार पाँच सय हेक्टर सिञ्चितक्षेत्र विस्तार गरेको छ ।
सिञ्चितक्षेत्र संरक्षणका लागि बबई नदीमा १.२ किलोमिटर तटबन्ध निर्माण गरेको छ । यस आवमा ७.७६ हेक्टर निजी जमिन खरिद गरेको बबई सिँचाइ आयोजनाका सूचना अधिकारी शेखरनाथ न्यौपानेले बताए । उनले चालु आवमा ९८.१७ प्रतिशत वित्तीय र ९८.२० प्रतिशत भौतिक प्रगति भएको जानकारी गराए ।
बबई सिँचाइ आयोजनाले सुरुदेखि हालसम्मको भौतिक प्रगति ८१.७६ प्रतिशत र वित्तीय प्रगति ६८.२३ प्रतिशत हासिल गरेको छ । हालसम्म पूर्वतर्फको ३४.५ किलोमिटर मूल नहर र शाखा नहर निर्माणको काम सम्पन्न गरेको छ भने पश्चिमतर्फको ४१.४ किलोमिटर मूल नहरमध्ये ३७. ६ किलोमिटर सम्पन्न गरेको छ ।
त्यसै गरी ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पु¥याउने लक्ष्य भएकामा २८ हजार ८३० हेक्टरमा सिँचाइ पु¥याइसकिएको छ । सिँचाइक्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत ४१.९४ किलोमिटर बबई नदीमा तटबन्ध निर्माण गर्नुपर्नेमा ३१.२४ किलोमिटर तटबन्ध निर्माण गरिएको छ । नहर निर्माणका लागि ४५२.२९ हेक्टर जग्गा प्राप्ति गर्नुपर्नेमा ३९४ हेक्टर जग्गा प्राप्ति भइसकेको सूचना अधिकारी न्यौपानेले बताए ।
बर्दियाका ६ वटा स्थानीय तहको ३६ हजार हेक्टरमा सिँचाइ गर्ने उद्देश्यसहित बाँकी काम तीव्र गतिमा गरिरहेको छ । बर्सातको समयमा पनि काम गर्न मिल्ने ठाउँमा निर्माण व्यवसायीले काम गरिरहेको बबई सिँचाइ आयोजनाले जनाएको छ ।
बबई सिँचाइ आयोजनाका सूचना अधिकारी शेखरनाथ न्यौपानेका अनुसार पूर्वतर्फको नहर निर्माणको काम सकिएको बताए । उनले भने, 'अब बाँकी मुख्य काम भनेको पश्चिमतर्फको गुलरिया नगरपालिका क्षेत्रको रहेको छ ।'
बबई सिँचाइ आयोजनाका निर्देशक गोपाल शर्माले हालसम्म ६ वटामध्ये पाँच वटा पालिकामा सिँचाइ पुगिसकेको बताए । उनले गुलरिया नगरपालिकाको आठ हजार हेक्टरमा सिँचाइ पु¥याउन बाँकी रहेको बताए ।
२०४५ सालदेखि शुरु भएको बबई सिँचाइ आयोजनाको आगामी २०८५/८६ सम्म आयोजनाको निर्माणको काम सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजनाको लागत २६ अर्ब रहेकोमा १८ अर्ब रकम लगानी भइसकेको छ । आगामी दुई वर्षमा आयोजना सकाउने लक्ष्य भए पनि धेरै चुनौती रहेको निर्देशक शर्माको भनाइ छ । आयोजनाको निर्माणका क्रममा आइपर्ने समस्या समाधानका लागि जिल्लाका विभिन्न सरोकारवाला निकायसँग समन्वय गर्ने गरी एकीकृत टिम बनाएर जानुपर्ने निर्देशक शर्मा बताउँछन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार