Listen LIVE

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

नेपालगञ्ज : पश्चिम नेपालको बाँकेलगायतका जिल्लामा अत्यधिक गर्मी बढेको छ । यहाँका अधिकांश सामुदायिक विद्यालयमा टिनको छानाले बनेका कक्षाकोठा रहेका छन् ।

नेपालगञ्जको चर्को गर्मी (४१–४२ डिग्री उच्च तापक्रम) मा विद्यालयका बालबालिका टिनको छानामुनि उकुसमुकुस भई तरतरी पसिना चुहाउँदै पढ्न बाध्य छन् । छिनछिनमा बिजुली जाने समस्या, पङ्खाको अभावमा साना बालबालिकाको स्वास्थ्य र पढाइ दुवै प्रभावित भएको विद्यालयका शिक्षकहरू बताउँछन् । अत्यधिक गर्मीको मौसममा पटकपटक विद्युत् अवरुद्ध हुने समस्याले टिनको छानामुनिको पढाइ सकसपूर्ण बनेको छ । अधिकांश विद्यालयले प्राथमिक तहका साना बालबालिकालाई टिनको छानामुनि राखेर पढाउने गरेका छन् ।

गर्मीका कारण विद्यार्थी पटकपटक पानी खान जाने, टाउको दुख्ने, थकान हुनेजस्ता समस्या देखिने गरेको नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित आदर्श माविका शिक्षिका हीरा गौतमले बताइन् । डुडुवा गाउँपालिका–४ स्थित श्री माध्यमिक विद्यालय शाहपुर्वाका सहायक प्रधानाध्यापक टीका खड्का र नेपालगन्ज–१० स्थित शारदा आधारभूत विद्यालयकी शिक्षिका अल्का वर्णवालको अनुभव पनि उस्तै छ ।

विद्यालयमा सामान्य प्राथमिक उपचारको व्यवस्था मात्र भएकाले बिरामी विद्यार्थीलाई सकेसम्म विद्यालयमै सम्हाल्ने, नसके घर पठाउने गरिएको उनीहरूको भनाइ छ । टिनका छानामा एउटा कक्षाकोठाको आवाज अर्को कोठासम्म सुनिन्छ । वर्षायाममा पानी पर्दा टिनका पाताले ठूलो आवाज निकाल्ने भएकाले पढाइमा थप अवरोध हुने शिक्षकहरूको भनाइ छ ।

तापक्रम घटाउने उद्देश्यले केही विद्यालयमा स्थानीय सरकारले टिनमुनि जिप्सन राखेको छ । तर नेपालगञ्जको गर्मीमा त्यो पनि प्रभावकारी नभएको शारदा आधारभूत विद्यालयका शिक्षक धर्मराज जोशी बताउँछन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद महशाखा प्रमुख गोर्खबहादुर थापाले टिनको छानामा जिप्सन राखेर तापक्रम घटाउने प्रयास गरिएको र नयाँ भवनहरू टिनका नबनेको बताए । उनले भने, 'यसलाई दीर्घकालीन बनाउन नीति बनाउने काम अझै हुन सकेको छैन ।'

जनप्रतिनिधिहरू सुविधा सम्पन्न भवन र बाताअनुकूलित वातावरणमा बसिरहेका बेला निम्न आय भएका परिवारका बालबालिका भने अझै टिनको छानामुनि गर्मीसँग सङ्घर्ष गर्दै पढ्न बाध्य भएको अभिभावकहरूको भनाइ छ ।

प्रतिक्रिया