Listen LIVE

बाँकेबाट भागेका २८५ कैदीबन्दी अझै सम्पर्कविहिन

aनेपालगञ्ज : बाँके जिल्लाका दुई वटा बाल सुधार गृह र एउटा कारागारबाट भागेका ३४० जना बालबन्दी र कैदीहरुमध्ये २८५ जना अझै पक्राउ परेका छैनन् । भागेका मध्ये हालसम्म ५७ जना मात्रै पक्राउ परेको कारागार र बाल सुधार गृहले जनाएका छन् ।

जिल्लाको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृह र डुडुवाको जयन्दु बालसुधार गृहबाट भागेका १९३ जना बालबन्दीमध्ये ४० जना पक्राउ परेको तथा नौबस्ता क्षेत्रीय कारागारबाट भागेका १४७ जना कैदीमध्ये १७ जना पक्राउ परेको जनाइएको हो ।

डुडुवास्थित जयन्दु बाल सुधार गृहका प्रमुख किशोर शर्माले सुधारगृहमा रहेका २२८ जना बालबन्दीमध्ये ११५ जना भागेकोमा २३ जना पक्राउ परेको र ९२ जनाको खोजी भइरहेको बताए । फरार रहेकाहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको र केही आफैं फर्किएको प्रमुख शर्माले बताए ।

यस्तै नौबस्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले सुधार गृहमा रहेका १७६ जना बालबन्दी मध्ये प्रहरीसँगको झडपमा पाँच जनाको मृत्यु भएको र ७८ जना भागेको बताए । भागेका मध्ये हालसम्म १७ जना मात्र पक्राउ उनले परेको बताए । सो सुधार गृहका ६१ जना बालबन्दीको खोजी कार्य भइरहेको छ ।

यसैगरि नौबस्ताकै क्षेत्रीय कारागारबाट फरार भएका १४७ जना कैदीमध्ये १७ जना पक्राउ परेको तथा १३० जनाको खोजी भइरहेको सो कारागारका प्रमुख जालन्धर भुषालले बताए । उक्त कारागारमा ५८५ जना कैदीहरु रहेका थिए । अझै पनि फरार रहेको २८५ जना बालबन्दी र कैदीहरुको खोजी कार्य भइरहेको तथा तीमध्ये धेरैजना सीमापारि पुगेको अनुमान पनि गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जेनजी आन्दोलनको समयमा बाँके लगायत देशभरिकै विभिन्न बालसुधार गृह र कारागारबाट कैदी बन्दीहरु भागेका थिए । तर, नेपालगञ्जस्थित कारागारबाट कैदीहरुले भाग्ने प्रयास गरेपनि सेनाको घेराबन्दीका कारण भाग्न सफल भएका थिएनन् । सो क्रममा सेनाले गोली चलाउँदा कैलाली निवासी एकजना कैदीको खुट्टामा गोली समेत लागेको थियो ।

प्रतिक्रिया