नेपालगञ्ज : डिभिजन वन कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०८२–८३ मा विभिन्न प्रजातिका छ लाख ७८ हजारभन्दा बढी बिरुवा उत्पादन गरेको जनाएको छ ।
डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले चालु आर्थिक वर्षमा विभिन्न प्रजातिका छ लाख ७८ हजार १७२ वटा बिरुवा उत्पादन गरिएको बताए ।
एक वर्षीयतर्फ पाँच लाख ८८ हजार ८७२ र बहुवर्षीयतर्फ ८९ हजार ३०० गरी कुल छ लाख ७८ हजार १७२ बिरुवा उत्पादन गरिएको उनले जनाए ।
एक वर्षीयतर्फ सावगन, मसला, बकाइनो, इपिल इपिल, गोल्डमोहर, सितलचिनी, खयर, सिसौ, अम्बा, सेतो शिरीष, सिमल, वीरेन्द्रफूल, छतिवन, एकासीया, अर्जुन लगायतका बिरुवा र बहुवर्षीयतर्फ अमला, छतिवन, जामुन, पारिजात, सतिसाल, कालो शिरीष, कागती, श्रीखण्ड, कनकचम्पा फूल, राजवृक्ष, अम्बा, अर्जुन, वीरेन्द्रफूल, धुपी, रिठा, कपुर, सिमल, कुसुम, निलमफूल, एकासीया लगायतका बिरुवा उत्पादन गरिएको वरिष्ठ डिभिजनल वन अधिकृत गुप्ताले जानकारी दिए ।
वरिष्ठ वन अधिकृत सुशील सुवेदीका अनुसार डिभिजन वन कार्यालयको परिसर र जिल्लाका विभिन्न स्थानमा रहेका सवडिभिजन वन कार्यालयका नर्सरीमा उक्त बिरुवाहरु उत्पादन गरिएका हुन् । उनका अनुसार शमसेरगन्ज सब डिभिजनअन्तर्गत ओभरी नर्सरीमा एक वर्षीय ४९ हजार ३४७ र ढकेरी नर्सरीमा बहुवर्षीय २० हजार २०० बिरुवा उत्पादन भएका छन् ।
त्यसैगरी नरैनापुर सवडिभिजन ५३ हजार एक वर्षीय, डिभिजन वन कार्यालयको नर्सरीमा तीन लाख ३४ हजार ५२५ एकवर्षीय र ५१ हजार ४०० बहुवर्षीय गरी तीन लाख ८५ हजार ९२५ बिरुवा, सिक्टा सवडिभिजनमा ३१ हजार एकवर्षीय, राप्ती सवडिभिजनमा एक वर्षीय ८१ हजार र बहुवर्षीय १७ हजार ७०० र कोहलपुर सवडिभिजनमा ४० हजार एक वर्षीय बिरुवा उत्पादन भएको उनले जानकारी दिए ।
एक वर्षीयतर्फ काठजन्य प्रजाति, गैह्रकाष्ठ प्रजाति, फलफूल प्रजाति, सजावटजन्य प्रजाति र बहुवर्षीयतर्फ काठजन्य, डालेघाँस, गैह्रकाष्ठ, सजावट र बहुमूल्य प्रजातिका बिरुवा उत्पादन भएका हुन् ।
विभिन्न कार्यक्रमअन्तर्गत उक्त मात्रामा बिरुवा उत्पादन गरिएका सुवेदीले बताए । उनका अनुसार समृद्धिका लागि वन कार्यक्रम, वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षण, नेपाल जलवायु परिवर्तन सहयोग, जिल्ला वन पैदावर आपूर्ति समिति, कृषि वन तथा वृहत्तर हरियाली प्रवर्धन, पारिवारिक निजी वन सहयोग कार्यक्रम बिरुवा उत्पादन गरिएको हो ।
वन कार्यालयले उत्पादन भएका बिरुवाहरु बिहीबारदेखि किसानलाई निःशुल्क रुपमा वितरण सुरु गरेको छ । उत्पादन भएका बिरुवाहरु आवश्यकता र मागअनुसार किसानलाई निःशुल्क रुपमा वितरण कार्य शुरु गरिएको वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालय र जिल्लाका सबै सवडिभिजन वन कार्यालयबाट किसानलाई निःशुल्क बिरुवा वितरण शुरु गरिएको हो ।
वन कार्यालयले किसानलाई बाहिरबाट बिरुवा खरिद गरेर समेत वितरण गरेको छ । वनले आँप, लिची, अनार लगायतका फलफूलजन्य बिरुवाहरु बाहिरी जिल्लाबाट खरिद गरेर वितरण गरेको हो ।
डिभिजन वन कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न प्रजातिका एक वर्षीयतर्फ चार लाख २६ हजार ५६२ र बहुवर्षीयतर्फ एक लाख ३४ हजार ४०१ गरी कुल पाँच लाख ६० हजार ९६३ बिरुवा उत्पादन र वितरण गरेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार