बर्दिया : बर्दियाको राजापुर नगरपालिका–१, दौलतपुर र कैलालीको टीकापुर जोड्न कर्णाली नदीमा झोलुङ्गेपुल निर्माण भएपछि आवत–जावत गर्न सहज भएको छ ।
पुल हेर्नका लागि आन्तरिक पर्यटकहरू आउन थालेका छन् । वर्षौँदेखि राजापुर नगरपालिकावासी कैलालीको टीकापुर जानका लागि डुङ्गामा जोखिमपूर्ण यात्रा गर्दै आएका थिए । राजापुर र टीकापुरवासीलाई सहज आवत–जावतका लागि झोलुङ्गे पुल निर्माण गरिएको हो ।
पुल निर्माणपछि दुवै जिल्लाका स्थानीयलाई आवत–जावत गर्न सहज भएको छ । पुल निर्माणका लागि २०८२ असारमा थानी निर्माण सेवाले १५ करोड ७३ लाखको लागतमा पुल निर्माणको जिम्मा लिएको थियो । २०८४ असारसम्म सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले एक वर्ष अगाडि नै पुल निर्माण गरी सञ्चालनमा ल्याएको हो ।
पुलको म्याद एक वर्ष अझै रहे पनि निर्माण कम्पनीले पुल सञ्चालनमा ल्याइसकेको सस्पेन्सन बृज डिभिजन कार्यालय पुल्चोकका सूचना अधिकारी प्रेमनारायण बस्यालले बताए । सो मल्टी स्पान बृज चारसय ८२ मिटर रहेको छ । पुलमा साइड स्पानसहित चार वटा स्पान र पाँच वटा पिलर रहेको सूचना अधिकारी बस्यालले बताए ।
झोलुङ्गे पुल निर्माणपछि टीकापुर बजार जान सहज भएको राजापुर नगरपालिका वडा नं १ मुर्गहवाका शान्ति सोनाहाले बताए । उनले वर्षौँदेखि कर्णाली नदीमा जोखिमपूर्ण रूपमा डुङ्गाको यात्रा गर्दैआएको बताउँदै त्यो बाध्यता हटेको बताए । उनका अनुसार टीकापुर पार्क घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक पुल हेर्न आउन थालेका छन् ।
'अब पुलसँगै राजापुर क्षेत्रको पर्यटकीय गतिविधि बढ्ने अपेक्षा छ' उनले भने–'राजापुरमा सञ्चालन भएको सोनाहा र थारू होमस्टेमा पर्यटकीय गतिविधि बढ्छ होला ।' कैलालीमा चर्चा कमाएको टीकापुर पार्कको नजिकै बनेको झोलुङ्गे पुलमा अहिले पर्यटकको उपस्थिति बढ्दै गएको छ ।
पुलको आसपासमा धमाधम नास्ता पसलहरू खुल्न थालेका छन् । २० किलोमिटर दूरी पार गरेर टीकापुर बजार पुग्ने दौलतपुरवासीहरू हाल १० मिनेटभित्र टीकापुर पुग्न सक्ने भएको राजापुर नगरपालिका–१, दौलतपुरका लोकराज ढुङ्गानाले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार