रोप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिका–२, मदुईका उदयाराम पुनले कालिजपालनमार्फत गाउँमै आत्मनिर्भर उद्यमको उदाहरण प्रस्तुत गरेका छन् ।
पाँच वर्षअघि २०० वटा कालिजबाट व्यवसाय सुरु गरेका पुनसँग अहिले करिब १ हजार ५ सय कालिज छन् । उनले गत वर्ष करिब ३० लाख रुपैयाँको कारोबार गरेका थिए भने यस वर्ष ३५ देखि ४० लाख रुपैयाँसम्म पुग्ने अपेक्षा गरेका छन् ।
वैदेशिक रोजगारीको विकल्प खोज्दै गाउँमै व्यवसाय थालेका पुनले कालिजपालनबाट सन्तोषजनक आम्दानी भइरहेको बताए । उनका अनुसार माग बढेसँगै उत्पादन पनि विस्तार हुँदै गएको छ ।
व्यवसायको सुरुआती चरणमा समस्या आएको उनले बताए । पहिलो पटक दाङबाट ल्याइएका २०० चल्लामध्ये १५० भन्दा बढी मरेपछि पनि हिम्मत नहारेर सिक्दै अघि बढेको उनको भनाइ छ ।
हाल दुई कट्ठा जमिनमा व्यवस्थित फार्म सञ्चालन गर्दै आएका पुनले आफ्नै ह्याचरी मेसिन जडान गरेका छन् । उनी आफ्नै फार्ममा उत्पादन भएका चल्ला कर्णाली प्रदेशका सुर्खेत, कालीकोट, जुम्ला र दैलेखसम्म पठाइरहेका छन् ।
एक दिनको चल्ला प्रतिगोटा साढे दुई सय रुपैयाँमा बिक्री हुने गरेको छ । भाले कालिज प्रतिगोटा दुई हजार पाँच सय र पोथी एक हजार दुई सय पचास रुपैयाँमा बिक्री भइरहेको पुनले जानकारी दिए ।
बाँकेका होटलमा कालिजको मासु विशेष परिकारका रूपमा लोकप्रिय बन्दै गएपछि माग बढेको छ । हाल उनले ८० पोथी र २५ भाले बिउका लागि छुट्टै राखेका छन् । आउँदो फागुनदेखि थप चार कट्ठा जमिनमा व्यवसाय विस्तार गर्ने तयारीमा छन् ।
कालिजपालनमा कोहलपुरकी सरिता थापाजस्ता अन्य उद्यमी पनि संलग्न छन् । उनीसँग हाल ५०० कालिज बिक्रीका लागि तयार छन् ।
बाँकेमा कालिजपालन वैकल्पिक आयआर्जनको माध्यमका रूपमा विकसित हुँदै गएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार