Listen LIVE

दुई दिन भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

बर्दिया : शुक्रबार र शनिबार मौसम प्रभावित हुन सक्ने भन्दै स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत सरोज चौधरीले जोखिम क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

नदी तथा खोलाका तटीय क्षेत्रमा बसोबास गर्ने र बाढी तथा डुबान प्रभावित क्षेत्रबाट आवतजावत नगर्न आग्रह गरिएको छ । घरपरिवारका आवश्यक कागजात, औषधि, खाद्यान्न, पिउने पानी, टर्चलगायत अत्यावश्यक सामान सुरक्षित राख्न भनिएको छ ।

नदी, खोला तथा नालामा पानीको बहाव बढ्न सक्ने भएकाले नदी तटीय र डुबान क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन प्रशासकीय अधिकृत चौधरीले आग्रह गरेका छन् । खराब मौसमका कारण पाकेको धानबाली भित्र्याउने किसानलाई आवश्यक सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाजलगायत विभिन्न संघसंस्थालाई आ–आफ्नो क्षेत्रबाट पूर्वतयारी, सूचना प्रवाह, सहयोग र समन्वय गर्न प्रशासनले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको विज्ञप्तिमा कात्तिक १३ र १४ गते नेपालको पश्चिमी तथा मध्यभागका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । उक्त मौसम प्रणालीको प्रभावले लुम्बिनी प्रदेशका बर्दियालगायत जिल्लामा बाढी, डुबान र अन्य विपद्जन्य जोखिम हुने सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया