Listen LIVE

जानकी गाउँपालिकाको नयाँ भवनबाट सेवा शुरु

नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकाले नयाँ आर्थिक वर्षसँगै नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह शुरु गरेको छ। निर्माणाधीन अवस्थामा रहेको गाउँपालिकाको नयाँ प्रमुख प्रशासनिक भवन निर्माण सम्पन्न भई उदघाटनसमेत भएपछि सोही भवनबाट सेवा दिन थालिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले नयाँ भवनबाट सेवा सञ्चालन भएपछि कर्मचारीलाई काम गर्न र सेवाग्राहीलाई सेवा लिन सहज भएको बताए।

उनले नेपाल सरकारले अघि सारेको सुशासन, सेवा प्रवाहमा सुधार, डिजिटल प्रशासन र नागरिकमैत्री सार्वजनिक सेवाको अवधारणाअनुसार काम गर्न नयाँ भवन प्रभावकारी हुने बताए।

गाउँपालिकाको नयाँ प्रशासनिक भवनको उदघाटन गर्दै अध्यक्ष छब्बन खाँले अब नागरिकले आधुनिक, व्यवस्थित र नागरिकमैत्री वातावरणमा एकै छानामुनिबाट सेवा पाउने बताए।

उनले भने, 'स्थानीय तह बलियो भए मात्रै सङ्घीय शासन व्यवस्थाको उद्देश्य पूरा हुन्छ। नयाँ प्रशासनिक भवनले गाउँपालिकाको सेवा प्रवाहलाई अझ व्यवस्थित, छिटो, पारदर्शी र नागरिकमैत्री बनाउनेछ। गाउँमै सिंहदरबारको अनुभूति दिलाउने हाम्रो प्रतिबद्धता यस भवनमार्फत थप सुदृढ भएको छ।'

गाउँपालिकाका अनुसार नयाँ भवनमा अत्याधुनिक प्रशासनिक कार्यालय, बैठक कक्ष, अभिलेख व्यवस्थापन कक्ष, सेवा केन्द्र तथा सेवाग्राहीमैत्री संरचना निर्माण गरिएको छ। यसबाट सामाजिक सुरक्षा, प्रशासनिक सेवा, सिफारिस, योजना तथा अन्य सार्वजनिक सेवा प्रभावकारी रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले आफूले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको ११ महिनाको अवधिमा १५ शय्याको अत्याधुनिक अस्पताल भवन र नयाँ प्रशासनिक भवन सञ्चालनमा ल्याउन पाएकोमा खुशी व्यक्त गरे।

वडा नम्बर ६ का अध्यक्ष जगदीशप्रसाद हरिजनले नयाँ भवनले स्थानीय सरकारप्रति नागरिकको विश्वास अझ बलियो बनाउने विश्वास व्यक्त गरे।

स्थानीय नागरिक मोहम्मद अहमद राईले विगतमा भवन अभावका कारण सेवाग्राहीले विभिन्न कार्यालय धाउनुपर्ने अवस्था रहेको स्मरण गर्दै अब सबै सेवा एउटै भवनबाट उपलब्ध हुने भएकाले नागरिकलाई सहज हुने बताए।

निर्माण कम्पनीको ढिलासुस्तीका कारण करिब छ वर्षदेखि अलपत्र परेको उक्त भवनको निर्माण हालै सम्पन्न भई सञ्चालनमा आएको हो। २०७९ सालमै सम्पन्न हुनुपर्ने भवनको केही अन्तिम काम भने अझै बाँकी रहेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीका अनुसार चार करोड २२ लाख ८४ हजार ७१० रुपैयाँ ४२ पैसा लागतमा थेगिम–श्रीकृष्ण–निशान जेभी (कोहलपुर–११) ले भवन निर्माण गरेको हो।

प्रतिक्रिया