Listen LIVE

बाँकेमा तरकारीको विषादी परीक्षण बढाइयो

नेपालगञ्ज : बाँकेमा अघिल्लो आव ०८१/८२ मा भन्दा गत आव ०८२/८३ मा तरकारी तथा फलफूलजन्य वस्तुको विषादी परीक्षण दायरा फराकिलो भएसँगै विषादीको मात्रामा पनि वृद्धि भएको पाइएको छ ।

अघिल्लो आवमा भन्दा गत आवमा तरकारी तथा फलफूलजन्य वस्तुको नमुना बढी मात्रामा परीक्षण भएसँगै विषादी पाइने सङ्ख्यामा पनि वृद्धि भएको हो ।

नेपालगञ्जस्थित कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गत आवमा दुई हजार ६२ वटा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षण भएका हुन् । उक्त सङ्ख्यामा नमुना परीक्षण हुँदा १२ वटा नमुनामा कैफियत पाइएको हो । 

अघिल्लो आवमा एक हजार ८८३ वटा नमुना परीक्षण हुँदा १० वटा नमुनामा कैफियत पाइएको थियो । आव ०८०–८१ मा एक हजार ९४ वटा नमुना परीक्षण हुँदा सात वटा नमुनामा कैफियत पाइएको थियो । हरेक वर्ष परीक्षण गरिने नमुनाको सङ्ख्यामा वृद्धि हुँदा कैफियतमा वृद्धि भएको छ ।

प्रयोगशाला एकाइ नेपालगञ्जका नायव प्राविधिक सहायक गौरव चौधरीले गत आवमा दुई हजार ६२ वटा तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षण गर्दा १२ वटा नमुनामा कैफियत पाइएको जानकारी दिए । 

'प्रयोगशालामा गत आवमा दुई हजार ६२ वटा नमुना परीक्षण भएकोमा १२ वटा नमुनामा कैफियत देखियो, अघिल्लो आवमा एक हजार ८८३ परीक्षण गरिएको थियो, जसमा १० वटा नमुनामा कैफियत देखिएको थियो,' उनले भने, 'अघिल्लो आवमा भन्दा गत आवमा नमुना परीक्षणको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ, परीक्षणको दायरा बढेसँगै कैफियतमा पनि केही वृद्धि भएको पाइयो ।'

उनका अनुसार कैफियत पाइएका तरकारी बाँके जिल्लाकै उत्पादन हुन् । रायो, धनिया, पालुङ्गो साग तथा खुर्सानीमा कैफियत पाइएको हो । कैफियत पाइएका १२ वटा नमुनामध्ये रेड लेबल (उपभोग गर्न नमिल्ने) ११ वटा र एउटा यल्लो लेबल पाइएको चौधरीले बताए ।

उनका अनुसार वैशाख महिनामा चार, कात्तिकमा चार, मङ्सिरमा एक, फागुनमा दुई गरी ११ नमुनामा रेड लेबल पाइएको थियो भने फागुनमा एउटा नमुनामा यल्लो लेबल पाइएको थियो ।

तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षणमा ३५ प्रतिशतभन्दा कम निषेध प्रतिशत भएमा त्यसलाई ग्रीन लेबल भनिने र उपभोग गर्न मिल्ने, ३५ देखि ४५ प्रतिशत निषेध प्रतिशत पाइएमा त्यसलाई यल्लो लेबल भनिने र त्यसलाई चार पाँच दिनसम्म क्वारेन्टिनमा राखेर पुनः परीक्षण गर्दा ३५ प्रतिशतभन्दा कम निषेध प्रतिशत देखिएमा त्यो पनि उपभोग गर्न मिल्ने र ४५ प्रतिशतभन्दा माथि निषेध प्रतिशत देखिएमा त्यसलाई रेड लेबल भनिने र उपभोग गर्न नमिल्ने चौधरीले बताए ।

प्रयोगशालामा नेपालका विभिन्न जिल्लाबाट नेपालगञ्ज आउने तरकारी तथा फलफूलजन्य वस्तु र भारतबाट आयात गरिने तरकारी तथा फलफूलजन्य वस्तुको विषादी जाँच हुने गरेको छ । एकदेखि डेढ घण्टाभित्रमा प्रयोगशालामा परीक्षण गरिएका नमुनाको नतिजा आउने उनको भनाइ छ ।

नायव प्राविधिक सहायक चौधरीका अनुसार तरकारी तथा फलफूलजन्य वस्तुमा अर्गानोफस्फेट र कार्बामेट गरी दुई वटा विषादी समूहको परीक्षण हुने गर्दछ । कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ नेपालगन्जबाट २०७९ मङ्सिर महिनादेखि तरकारी तथा फलफूलजन्य वस्तुको विषादीको नमुना परीक्षण शुरु गरिएको हो ।

प्रतिक्रिया