Listen LIVE

चल्ला र अण्डा बिक्रीबाट एक करोड १२ लाख राजस्व संकलन

नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिका –४ स्थित खजुरामा रहेको कुखुरा विकास फार्मले गत आव २०८२–८३ मा चल्ला तथा अण्डालगायत बिक्रीबाट एक करोड १२ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

विभिन्न प्रजातिका लोकल कुखुराहरु अनुसन्धान, उत्पादन तथा बजारीकरण गर्दैआएको फार्मबाट गत आवमा चल्ला, अण्डा, कुखुरा, मल लगायतको बिक्रीबाट एक करोड १२ लाख १४ हजार ८२२ रुपैयाँ राजस्व सङ्कलन भएको फार्म प्रबन्धक राधा पन्थी पाण्डेले जानकारी दिइन् । 

गत आवमा फार्मबाट एक लाख ७८ हजार १७१ एक दिने लोकल चल्ला र तीन लाख १९ हजार ८३९ अण्डा उत्पादन भएको थियो । जसमध्ये दुई लाख ४१ हजार ६८१ अण्डा (ओथारो अण्डा) चल्ला उत्पादनका लागि प्रयोग भएको, ६९ हजार ५०७ राम्रो, चार हजार छ वटा चर्केको अण्डा र तीन हजार १०७ ओथारो बिक्री वितरण गरिएको थियो । 

अघिल्लो आव २०८१–८२ मा फार्मबाट एक लाख ७८ हजार ६५९ चल्ला र तीन लाख चार हजार १०२ वटा अण्डा उत्पादन तथा बिक्री भएको थियो । जसबाट एक करोड ४२ लाख १०३ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । 

त्यसैगरी आव २०८०–८१ मा फार्मबाट एक लाख ८१ हजार ९६६ चल्ला उत्पादन भएका थिए । चल्ला, अण्डा, कुखुरा, मललगायतको बिक्रीबाट एक करोड सात लाख दुई हजार १०९ रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

फार्मले वार्षिक लाखौँको सङ्ख्यामा विभिन्न प्रजातिका लोकल कुखुराका चल्ला उत्पादन गरेर बिक्री वितरण गर्दैैआएको हो । ग्रामीण कुखुराका चल्ला उत्पादन तथा वितरण, आनुवांशिक स्रोत संरक्षण, नवीनतम जातका पन्छीहरुको अनुसन्धान तथा कृषकलाई विभिन्न तालिम तथा प्राविधिक सहयोग, सेवा परामर्शसमेत फार्मले प्रदान गर्दैआएको फार्म प्रबन्धक पाण्डेले जानकारी दिइन् ।

फार्मभित्र जैविक सुरक्षा तथा अत्याधुनिक खोरसहितको कुखुरा फार्म, दाना मिल, ह्याचरी (चल्ला उत्पादन तथा वितरण), रोग निदान प्रयोगशाला सेवा, नवीनतम प्रजातिका पन्छीपालन, अध्ययन–परीक्षण, पानी शुद्धीकरण प्लान्ट सञ्चालन रहेको छ । 

फार्ममा पाँच हजार माउ अट्ने दुईवटा अत्याधुनिक खोर रहेका छन् । पाण्डेका अनुसार गत आवमा फार्मबाट एक लाख ५० हजार चल्ला उत्पादन गर्ने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा बढी एक लाख ७८ हजार १७१ चल्ला उत्पादन गरिएको हो । बजेटको व्यवस्थाअनुसार हरेक वर्ष चल्ला उत्पादनको लक्ष्य निर्धारण गरिने उनको भनाइ छ । 

कृषकलाई एक दिने चल्ला सिधै फार्मबाट र हुर्किएका चल्ला ब्रुडर किसानमार्फत वितरण गर्ने व्यवस्था रहेको वरिष्ठ प्राविधिक अधिकृत ज्ञानु बुढाले बताए । उनका अनुसार हरेक हप्ताको सोमबार कृषकलाई फार्मबाट एक दिने चल्ला वितरण गरिँदैआइएको छ । 

एकदिने चल्लालाई प्रतिचल्ला ४५ रुपैयाँ र ब्रुडर किसानबाट बिक्री गरिने हुर्किएका चल्लालाई लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट तोकिएको दररेटमा ब्रुडर किसानले बिक्री गर्दैआएको उनले जानकारी दिए । ब्रुडर किसानबाट ४ देखि १२ हप्तासम्मका चल्ला वितरण हुने उनले बताए । 

फार्मबाट ग्रामीण ब्लाक अष्ट्रालोप र न्यू हेम्पसायर प्रजातिका कुखुराका चल्ला र लोकल खजुरा साकिनी, घाँटी खुइले, शुद्ध कालो, प्वाँख उल्टे, साकिनीका चल्ला उत्पादन, संरक्षण तथा बजारीकरण हुँदैआएको फार्मले जनाएको छ ।

प्रतिक्रिया