नेपालगञ्ज : भारतसँग करिब ६५ किलोमिटर खुला सीमा जोडिएको बाँकेमा भन्सार छल्ने सामान बरामद हुने क्रम रोकिएको छैन ।
जिल्ला प्रहरी कार्यालय बाँकेले हरेकजसो दिन भन्सार छलेर ल्याइएका सामान नियन्त्रणमा लिएको विवरण सार्वजनिक गरिरहे पनि तस्करीको मूल सञ्जाल भने अझै जस्ताको तस्तै रहेको भन्दै स्थानीयले प्रश्न उठाउन थालेका छन् ।
प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका तरकारी, लत्ताकपडा, सुर्तिजन्य पदार्थ, कोक, माउन्टेन ड्यू लगायत पेय पदार्थ तथा ढुवानीमा प्रयोग भएका सवारी साधनसहित करिब २ लाख ८७ हजार २०० रुपैयाँ बराबरका सामान बरामद गरेको जनाएको छ । बरामद गरिएका सामग्री आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
स्थानीयवासीका अनुसार खुला सीमाको फाइदा उठाउँदै रातिको समयमा विभिन्न नाकाबाट संगठित रूपमा सामान नेपाल भित्र्याइन्छ । उनीहरू भन्छन्, प्रहरीको नियन्त्रणमा प्रायः सामान बोक्ने भरिया वा साना ढुवानीकर्ता मात्रै पर्ने गरेका छन् । तस्करीले राज्यको राजस्वमा प्रत्यक्ष असर पारिरहेको छ ।
भन्सार तिरेर व्यापार गर्ने व्यवसायी अस्वस्थ प्रतिस्पर्धाको मारमा परेका छन् भने अवैधरूपमा भित्रिने सामानले बजार मूल्यसमेत प्रभावित बनाउने गरेको व्यवसायीहरूको भनाइ छ ।
सीमामा खटिने सशस्त्र प्रहरीले दैनिक ज्याला मजदुरी गरेर जोहो टार्नेलाई मात्र निशाना बनाएको स्थानीय बताउँछन् । सुरक्षा निकायले भने तस्करी नियन्त्रणका लागि नियमित चेकजाँच भइरहेको दाबी गर्दै आएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार