Listen LIVE

दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड

नेपालगञ्ज : लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री तथा लुम्बिनी प्राविधिक विश्वविद्यालयका सहकुलपति जन्मजय तिमिल्सिनाले प्रदेशको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन गर्न सरकार गम्भीर भएर काम गरिरहेको बताएका छन् ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सवका अवसरमा बोल्दै मन्त्री तिमिल्सिनाले दक्ष जनशक्ति उत्पादनकै उद्देश्यले विश्वविद्यालय स्थापना गरिएको उल्लेख गर्दै यसले तोकिएको जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए।

उनले विश्वविद्यालयले आफ्नो जिम्मेवारी पूरा गर्न नसके प्रदेश सरकारले बन्द गर्नसमेत पछि नपर्ने चेतावनी दिँदै गुणस्तरमा कुनै सम्झौता नहुने स्पष्ट पारे।

मन्त्री तिमिल्सिनाले भने, 'हामीले दिएको जिम्मेवारी पूरा भएन भने विश्वविद्यालय बन्द गर्नसमेत पछि पर्दैनौँ। यो संस्था प्रदेशको विकासका लागि स्थापना गरिएको हो, त्यसैले सबैले आफ्नो कर्तव्य जिम्मेवारीपूर्वक पूरा गर्नुपर्छ।'

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. कृष्णप्रसाद घिमिरेले लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना भएको छोटो समय भएकाले यसलाई सानो बालकसँग तुलना गर्दै यसको विकासका लागि समय, माया र संरक्षण आवश्यक रहेको बताए।

प्रदेशसभा सदस्यहरू अम्बिका काफ्ले, मीना श्रेष्ठ र सुशीला वादीले प्रदेश सरकारकै पहलमा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना भएको उल्लेख गर्दै प्रदेश संरचना नभएको भए यस्ता शैक्षिक योजना जिल्लासम्म नपुग्ने बताए।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोदप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य माया पुन र सञ्जु कुमारी चौधरी, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, विश्वविद्यालयका कुलसचिव प्रा. रेगबहादुर भण्डारी, डीन डा. निरज केसी, निर्देशक डा. प्रदीप कर्ण, परीक्षा नियन्त्रक जेन्टिल गौतम, महेन्द्र बहुमुखी क्याम्पस प्रमुख डा. लालमणि आचार्य, सामाजिक विकास कार्यालय प्रमुख ऋषि शर्मा, भन्सार कार्यालय प्रमुख जनार्दन पौडेल र नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

वार्षिकोत्सवका अवसरमा विश्वविद्यालयले स्थापना भएयता हासिल गरेका उपलब्धि, सञ्चालनमा रहेका शैक्षिक कार्यक्रम तथा आगामी योजनाबारे जानकारी गराइएको थियो। विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, नृत्य तथा सिर्जनात्मक कार्यक्रम प्रस्तुत गरी समारोहलाई थप आकर्षक बनाएका थिए।

वि.सं. २०७९ मा लुम्बिनी प्रदेश सरकारले स्थापना गरेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले हाल सूचना प्रविधि, इन्जिनियरिङ, कृषि, वन र पर्यटनलगायत क्षेत्रमा प्राविधिक शिक्षा सञ्चालन गर्दै आएको कुलसचिव प्रा. रेगबहादुर भण्डारीले बताए।

उनका अनुसार प्रदेशको शैक्षिक तथा प्राविधिक विकासमा योगदान पु¥याउने लक्ष्यसहित विश्वविद्यालयले गुणस्तरीय शिक्षा, अनुसन्धान र दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको छ। हाल विश्वविद्यालयमा करिब ४०० विद्यार्थीले प्राविधिक शिक्षा लिइरहेका छन्।

प्रतिक्रिया