Listen LIVE

जमोग बजारमा सवारी दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

नेपालगञ्ज : नेपालगञ्जको सीमावर्ती भारतीय बजार चर्दा जमोगमा सडक दुर्घटनामा परी नेपाल निवासी श्रीमान् श्रीमतको मृत्यु भएको छ । बसले मोटरसाइकललाई ठक्कर दिँदा नेपालगञ्ज पिप्रहवा निवासी दुई जनाको मृत्यु भएको हो ।

नेपालगञ्जबाट भारतीय सीमावर्ती क्षेत्रमा उपचारका लागि मोटरसाइकलमा जाँदै गर्दा चर्दा जमोग भन्ने स्थानमा बसले मोटरसाइकललाई ठक्कर दिएको रुपईडिहास्थित भारतीय प्रहरीले जनाएको छ ।

रुपईडिहाका थाना प्रभारी रमेश रावतका अनुसार उपचारका लागि जाने क्रममा बाँके उढरापुर घर भई हाल नेपालगञ्ज पिप्रहवा बस्दै आएका ३५ वर्षीय बुद्धु चमार र उनकी श्रीमती २९ वर्षीया सरस्वती चमारको मृत्यु भएको हो ।

बुद्धुको घटनास्थलमै मृत्यु भएको थियो भने श्रीमती सरस्वतीको उपचारका लागि बहराइच लैजाँदै गर्दा बाटोमा मृत्यु भएको रुपईडिहाका थाना प्रभारी रावतले बताए ।

दुबैजना सवार भे ६ प ५२८९ नेपाली नम्बर प्लेटको मोटरसाइकल बाबागञ्ज नजिकको चर्दा जमोग बजारमा बससँग ठोक्किएको थियो ।

दुर्घटनापछि स्थानीय बासिन्दाको सहयोगमा घाइते महिलालाई सीएचसी अस्पताल चर्दा लगिएपनि चिकित्सकहरूले अवस्था गम्भीर रहेको भन्दै उनलाई मेडिकल कलेज बहराइच रेफर गरेका थिए । 

घटनाको जानकारी पाएपछि रुपईडिहा प्रहरीले घटनास्थलमा पुगेर आवश्यक कानुनी कारबाही शुरु गरेको थियो । प्रहरीले दुबै जनाको शवलाई नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि बहराइच पठाएको छ भने दुर्घटनाको अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ । 

दुर्घटनाको जानकारी पाएलगत्तै चमारका आफन्तहरु रुपईडिहा थानाको सम्पर्कमा आएकोले दुबै जनाको शव हस्तान्तरण गर्ने प्रक्रिया शुरु गरिएको प्रहरीलाई उधृत गर्दै रुपईडिहाबाट हाम्रा सहकर्मी सन्तोष शुक्लाले जनाएका छन् ।

प्रतिक्रिया