नेपालगञ्ज : भारतीय उच्च सुरक्षा अधिकारीले नेपाल–भारत सीमा नाकाको अनुगमन तथा निरीक्षण गरेका छन् । सीमावर्ती भारतीय क्षेत्र देवीपाटन रेन्जका डीआईजी अशोक कुमारसहितको टोलीले नेपाल–भारत सीमाको जमुनाहा नाका तथा भारततर्फको रुपईडिहा नाकाको निरीक्षण गर्दै सुरक्षा व्यवस्थाबारे जानकारी लिएका हुन् ।
सो अवसरमा उनले रुपईडिहास्थित भारतीय प्रहरी थानाका अधिकारी, सशस्त्र सीमा बल (एसएसबी) चेकपोस्टका अधिकारी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका अधिकृतसँग भेट गरी सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक सुझाव दिएको रुपईडिहा प्रहरी थानाका प्रमुख प्रहरी निरीक्षक रमेशसिंह रावतले बताए ।
उनका अनुसार डीआईजी कुमारले दुवै देशका सुरक्षा निकायबिच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै नागरिकको आवागमन सहज बनाउने, आपराधिक गतिविधि नियन्त्रण गर्ने तथा लागुऔषध ओसारपसार रोक्न विशेष ध्यान दिन निर्देशन दिए ।
सो अवसरमा डीआईजी कुमारले भारत सरकारले पनि सीमाक्षेत्रको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै नेपाल–भारत सीमा संवेदनशील भएकाले यहाँको सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाइने बताए ।
निरीक्षणका क्रममा उनले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमासम्म पुगेर सुरक्षा अवस्थाको स्थलगत मूल्याङ्कन गरे । साथै, सीमाबाट आवतजावत गर्ने व्यक्तिको जाँच प्रक्रियाको अवलोकन गर्दै थप सतर्कता अपनाउन निर्देशन दिए ।
यस्तै उनले नेपालतर्फको इलाका प्रहरी कार्यालय जमुनाहा र सशस्त्र प्रहरी बल नेपाल भन्सार सुरक्षा कार्यालयका अधिकृतसँग पनि भेटघाट गरेका थिए । समन्वय र सहकार्यबाट मात्रै सीमा सुरक्षामा प्रभावकारी सफलता हासिल गर्न सकिनेमा उनले जोड दिएको रुपईडिहाबाट सहकर्मी सन्तोष शुक्लाले जनाएका छन् ।
निरीक्षणका क्रममा सीमा क्षेत्रमा सुरक्षा जाँच तथा सर्वसाधारणको आवागमनको व्यवस्थापन सन्तोषजनक रहेको पाइएको प्रतिक्रिया आएको रुपईडिहा प्रहरी थानाका प्रमुख प्रहरी निरीक्षक रावतले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार