Listen LIVE

दाङमा स्याउका बिरुवा उत्पादनसँगै खेती विस्तार गरिँदै

दाङ : भारतको हिमाचल प्रदेशको सिम्लामा १५ बर्ष स्याउ बगैँचामा काम गर्नुभएका रोल्पा निवासी मनु बुढामगर दाङको घोराहीमा स्याउका बिरुवा उत्पादनसँगै स्याउको व्यवसायिक खेतीमा लागेका छन् । घोराही उपमहानगरपालिका–११ मज्गैँमा नरदेवी माध्यामिक विद्यालयको तीन बिगाह जग्गा बार्षिक एक लाख रुपैयाँ भाडामा लिएर डेढ बर्षअघि परीक्षणका रुपमा २० वटा बिरुवा रोपेका थिए । 

दाङको हावापानी र पहाड तथा हिमाली क्षेत्रमा उत्पादन लिन सकिने ३४ गरी ४० प्रजातिका ४० हजार बिरुवा उत्पादन गरेका छन् । 

सगरमाथा नर्सरी फर्म कम्पनी स्थापना गरेर स्याउका बिरुवा उत्पादनसँगै खेतीमा जोडिएका बुढाले ४० प्रजातिका स्याउमध्ये तराई क्षेत्रमा खेती गर्न सकिने अन्ना प्रजातिको स्याउ दाङमा फल्न थालेको बताए । उनका अनुसार ४५ लाख बढी लगानी गरेर बिरुवा उत्पादन गरिरहेको छ । 

परीक्षणका रुपमा १४ महिनाअघि रोपेका स्याउका बिरुवाले फल दिन थालेको भन्दै बुढाले भने, ‘भारतको सिम्लाबाट बिरुवा लिएर दाङमा परिक्षण गरेका थियौँ । परीक्षणमा सफल भएका छौँ, अब व्यवसायिक रुपमा अघि बढ्छौँ ।’ उनका अनुसार भारतको राजस्थान लगायत गर्मी हुने ठाउँमा खेती भइरहेको अन्ना, हर्मन ९९ र डोर्सड गोल्डेन जातका स्याउका बिरुवा रोपिएको छ । 

स्याउको फल पोटिलोसँगै स्वाद समेत मिठो भएकाले यो बर्ष आफूले नै १४ हजार विरुवा दाङमै रोप्न थालेको बताउँछन् । गत वर्ष पाँच हजार बिरुवा बिक्री गरेका बुढाले यो बर्ष १५ हजार बढी बिरुवा अर्डर आइसकेको बताए । उनका अनुसार दाङसँगै रोल्पा, प्युठान, रुकुम,मुस्ताङबाट विरुवाको माग भएको छ । उनले स्याउका बिरुवा मंसिरदेखि चैतसम्म रोप्नुपर्ने बताउँछन् ।  

भारतमा सिकेको सीप र ज्ञानलाई आफ्नै ठाउँमा प्रयोग गर्ने गरि बाँझो जमिन उपयोगमा ल्याएर युवालाई स्वरोजगार बनाउने योजनाका साथ लागेको बताउँछन् । समुन्द्री सतहबाट ६०० देखि ११०० मिटर उचाइमा फैलिएको दाङमा खेती गर्न सकिने बताउँछन् । भारतबाट मुल बीउ ल्याएर ग्राफ्टिङ गरेर स्थानीय हावापानी सुहाउँदो फल्न सक्ने गरी बिरुवा उत्पादन गर्दै आएका छन् ।

स्याउको गुणस्तरमा कुनै कमी नहुने भन्दै तराईमा फल्ने स्याउको बोक्रा पातलो र पहाडी भेगमा फल्ने स्याउको बोक्रा केही बाक्लो हुने बताउँछन् । स्याउ खेतीका लागि जमिनको प्रकृति, मल–जलको व्यवस्थापन र रोग–किरा नियन्त्रणप्रति ध्यान दिनुपर्ने भन्दै उनले भने, ‘हामीले नर्सरीबाट बिरुवा बिक्रीसँगै रोप्न चाहने किसान वा व्यक्तिलाई प्राविधिक ज्ञान पनि दिने गरेका छौँ ।’

प्रतिक्रिया