Listen LIVE

ड्रागन फ्रुटको खेतीबाट वार्षिक ४० लाख आम्दानी

प्युठान : धान हुने खेतीमा प्युठानको झिमरुक फाँटमा पछिल्लो समय ड्रागन फ्रुट फल्न थालेको छ । करिब १५ रोपनी क्षेत्रफलमा लगाइएको ड्रागन फ्रुट अहिले बिक्री गर्न सुरु गरिएको छ ।

स्थानीय नवीनकुमार श्रेष्ठ र लोकबहादुर गुरुङले सञ्चालन गरेको इशान एग्रो फार्ममा अहिले लटरम्म ड्रागन फ्रुट फलेका छन् । यहाँ चार वर्षदेखि ड्रागन फ्रुट उत्पादन भइरहेको छ ।

गत वर्ष ३२ लाख रुपैयाँ आम्दानी गरेको फार्मले यस वर्ष ४० लाखसम्म आम्दानी हुने अपेक्षा गरेको सञ्चालक श्रेष्ठले बताए । “पहिलेको तुलनामा बजार भाउ घटेको छ,” श्रेष्ठले भने, “अहिले ४५० रुपियाँ प्रतिकिलो बिक्री गरेका छौं ।”

ड्रागन खेतीका लागि करिब ५५ लाख रुपैयाँ लगानी लागेको श्रेष्ठको भनाइ छ । जिल्ला बाहिर मार्केटमा चलेको तर जिल्लामा नभएको व्यवसाय गरेर जिल्लामा मार्केट बनाउन सकिने भन्दै यसतर्फ लागेको उनको भनाइ छ । उत्पादन भएका ड्रागन ६० प्रतिशत जिल्ला बाहिर र ४० प्रतिशत जिल्लामै बिक्री हुने गरेको छ ।

फार्मले ड्रागनको बिरुवा उत्पादन गरेर समेत बिक्री गर्ने गरेको श्रेष्ठले बताए । फार्मलाई अग्र्यानिक उत्पादनको रुपमा विकास गर्ने योजना रहेको श्रेष्ठले सुनाए । “यो हाम्रो अर्गानिक उत्पादन हो,” उनले भने, “हामीले कुनै पनि विषादी प्रयोग गर्ने गर्दैनौं ।” अहिले फार्ममा अम्बा, कुरिलो खेतीसमेत गरिएको श्रेष्ठले बताए ।

प्रतिक्रिया