Listen LIVE

गर्मी बढेपछि गुलरियाका विद्यालय बिहान ६ देखि ११ बजेसम्म खुल्ने

बर्दिया : सातायता चर्को घामसँगै गर्मी बढेपछि गुलरिया नगरपालिकाले बिहान ६ बजेबाट विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । पालिकाको शिक्षा शाखाले बिहान ६ देखि दिउँसो ११ बजेसम्म विद्यालय सञ्चालन गर्न निर्देशन दिएको हो । 

अत्याधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै जेठ ११ देखि नगरभित्रका सबै विद्यालयमा बिहान ६ बजेदेखि कक्षा सञ्चालन गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख सतिश यादवले बताए । अत्याधिक गर्मीसँगै चलेको लूले जनजीवन प्रभावित भएकाले बिहान चाँडै कक्षा सञ्चालन गर्न लागिएको उनले बताए । मौसममा सुधार भएपछि कक्षा संचालनको समय हेरफेर गरिने उनले बताए । अहिले गुलरिया क्षेत्रमा बिहान १० बजेदेखि ४ बजेसम्म कक्षा संचालन भइरहेको छ । 

पछिल्लो साता चर्को घामले मानिसहरु आवश्यकबाहेक मानिसहरु घरबाहिर निस्कन छाडेका छन् । दिउँसोको तापक्रम औषत ३९ देखि ४१ डिग्री पुग्ने गरेको छ । शुक्रबार बिहान ११ बजे न्यूनतम तापक्रम ३८ डिग्री रहेको जल तथा मौसम विज्ञान पुर्वानुमान महाशाखाको बुलेटिनमा छ । बिहान ८ देखि साँझ ६ बजेसम्मै चर्को घाम लाग्ने गरेको छ ।

अत्याधिक गर्मीले सडकमा चहलपहल पातलो बनेको छ । गर्मीका कारण घाखटिरा, टाउको दुख्ने, झाडापखाला, ज्वरोलगायतका बिरामीको संख्या पनि बढेको जिल्ला अस्पताल गुलरियाका मेडिकल सुपरिटेन्डेट डा. सुभाष पाण्डेयले बताए । गर्मीमा शरीरबाट अत्याधिक पसिना बग्ने भएकोले प्रशस्त पानी र झोलपदार्थ बढी खान चिकित्सकले सुझाइरहेका छन् । 

गर्मीका कारण दैनिक ज्यालादारी गर्ने मजदुर र किसान बढी प्रभावित भएका छन् । जिविका चलाउनकै लागि चर्को घाममा मजदुरी गर्नुपरको गुलरिया–९ का आशाराम लोधले सुनाए । खेतमा मजदुरी गर्दै आएका गुलरिया–१० का बलराम गोडियाले घरको चुल्हो बाल्न पनि गर्मीकै बीच काम गर्नु परेको बताए ।

प्रतिक्रिया