कावासोती : थोरै लगानी र कम मेहनतबाट धेरै आम्दानी लिन सक्ने भएपछि जिल्लामा कागती खेतीतर्फ कृषकको आकर्षण बढेको छ । केही वर्ष अघिसम्म पाखा पखेरामा सीमित रहेको नवलपुरको पहाडी भेगमा अहिले हरियाली मात्र भएका छैन, किसानले उत्पादन बिक्री गरी राम्रो आन्दानी लिइरहेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई नवलपुरका प्रमुख सुनिलकुमार सिंहले नवलपुरमा अहिले कागती खेती गर्ने किसानको संख्या बढ्दो रुपमा रहेकोे बताए । एक पटक लगाएपछि लामो समयसम्म उत्पादन लिन सकिने र धेरै आम्दानी हुने हुँदा किसानको आकर्षण बढेको इकाई प्रमुख सिंहले बताए ।
करिब दुईसय हेक्टर क्षेत्रफलमा व्यावसायिक कागती खेती मात्र हुने गरेको कार्यालय प्रमुख सिंहले बताए । नवलपुरको तल्लो भेगमा सुनकागती १, २ र पहाडमा तेह्रथुम स्थानीय जातको कागती लगाउने गरिएको उनले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना इकाई नवलपुरका सूचना अधिकारी तथा कृषि अधिकृत रणबहादुर महतोले परियोजनाले बुलिङटार, बौदीकाली गाउँपालिका, हुप्सेकोट –५, देवचुली –६, मध्यविन्दु –८ र १५ वडा गैंडाकोट नगरपालिकाको १८ नम्बर वडासहित १७ वटा वडामा सुन्तला जातका फलफूलका लागि जोन कार्यक्रम सञ्चालनमा रहेको बताए ।
यसैगरी गैडाकोट –३, कावासोती –१७ र मध्यविन्दु –५ र १८ मा थप विस्तार गरिएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका –८, का नरेन्द्रकुमार केसीले कागती खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । कागती खेतीअघि बाख्रापालन गरेका उनले २०७३ बाट कागती खेतीतर्फ लागेका हुन् ।
उनले भने, “बाख्रा पनि पाले तर भनेजस्तो भएन, पछि यसको खेती सुरु गरें अहिले सोचेभन्दा राम्रो आम्दानी दिएको छ ।” उत्पादन भएको कागती लिन व्यापारी बगैँचामा आउने गरेको र सरदर अहिले प्रतिकिलोग्राम सयका दरले लैजाने गरेको उनले बताए ।
जिल्लामा २०७९–८० मा ५० मेट्रिक टन सुन्तला जातका कागती उत्पादन भएको थियो । त्यसबाट ६० लाख आम्दानी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रतिनिधिहरुको भनाइ छ । यस्तै, आव २०८०–८१ मा एक हजार ६२५ मेट्रिक टन उत्पादन भएको छ । जसबाट एक करोड ४६ लाख २५ हजार आम्दानी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई नवलपुरका सूचना अधिकारी महतोले जानकारी दिए ।
यहाँका नाङ्गो पाखा पखेरामा पाँच वर्ष अघिसम्म नवलपुरमा ३३१ हेक्टरमा मात्र सुन्तला जात फलफूल खेती हुने गरेको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन पश्चात् गत वर्षसम्ममा थप ४८७ हेक्टरमा सुन्तला जात फलफूल खेती विस्तार भएर ८१८ हेक्टर भएको तथ्याङ्क छ ।
जोन कार्यक्रम सञ्चालनपछि विभिन्न अनुदान र प्राविधिक सहयोग हुने गरेपछि कृषकहरु थप कागती खेतीतर्फ लागेका छन् । परियोजना अन्तर्गत सुन्तला जातको विरुवमा ५० प्रतिशत, सिँचाइका लागि ८५ प्रतिशत, कृषि औजारका लागि ५०, निःशुल्क प्राविधिक सेवा, संकलन केन्द्र निर्माणका लागि ८५ प्रतिशत अनुदान प्रदान गरेर कृषकलाई खेतीका लागि प्रेरित गर्ने काम गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार