Listen LIVE

स्म्याकसहित भारतीय नागरिक सीमाबाट पक्राउ

नेपालगञ्ज : नेपाल–भारत सीमा क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रण अभियानका क्रममा भारतीय सुरक्षा निकायले नेपालतर्फ ल्याउँदै गरेको ५३ ग्राम स्म्याकसहित एक जनालाई पक्राउ गरेको जनाएको छ ।

रुपईडीहा प्रहरी र सशस्त्र सीमा बल -एसएसबी)को ४२औँ वाहिनी, रुपईडीहा बिओपीको संयुक्त टोलीले शनिवार सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा भारतबाट नेपालतर्फ जाँदै गरेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

रुपईडीहा प्रहरीका अनुसार, भारत–नेपाल सीमाको सीमा स्तम्भ नम्बर ६५१/२ नजिक शंकास्पद अवस्थामा हिँडिरहेका व्यक्तिलाई रोकी खानतलासी गर्दा उनको साथबाट ५३ ग्राम स्म्याक बरामद भएको थियो । साथै, दुईसय भारतीय रुपैयाँ र एकसय नेपाली रुपैयाँ पनि फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने व्यक्ति रुपईडीहा नगर पञ्चायतको विवेकानन्द नगर वार्डस्थित चिकवन टोलाका ३८ वर्षीय शमीम अहमद रहेको भारतीय प्रहरीले जनाएको छ ।

रुपईडीहा प्रहरीका प्रभारी निरीक्षक हरेंद्र कुमार मिश्रका अनुसार, पक्राउ परेका अहमद लागूऔषध तस्करीमा संलग्न पुराना अभियुक्त हुन् । उनीविरुद्ध यसअघि नै एनडिपिएस ऐनअन्तर्गत तीन वटा तथा आयुध ऐनअन्तर्गत एउटा मुद्दा दर्ता भइसकेको छ ।

बरामद गरिएको स्म्याकका सम्बन्धमा एनडिपिएस ऐनको सान्दर्भिक धाराअन्तर्गत नयाँ मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अहमदलाई न्यायिक हिरासतमा पठाएर बहराइचस्थित अदालतमा उपस्थित गराइएको भारतीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया