Listen LIVE

एक किसानसँग ६० क्विन्टल धान खरिद गर्दै खाद्य व्यवस्था

नेपालगञ्ज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले हालसम्म बाँकेका किसानहरुबाट १४ हजार क्विन्टल धान खरिद गरेको छ । 

गत कात्तिक २० गतेबाट धान खरिद सुरु गरेको कम्पनीले हालसम्म १२ हजार ५०० क्विन्टल मध्यम र एक हजार ५०० क्विन्टल मोटो धान गरेर १४ हजार क्विन्टल धान खरिद गरिसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताए । 

प्रमुख लामिछानेका अनुसार गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद शुरु गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष ३० हजार क्विन्टल मोटा धान र १० हजार क्विन्टल मध्यम गरी ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । धान बिक्रीका लागि ठुलो सङ्ख्यामा जिल्लाका किसानले यस वर्ष कार्यालयमा नाम दर्ता गराएकोले निर्धारित कोटा पूरा हुने जनाउँदै उनले त्योभन्दा पनि बढी धान विक्रीका लागि आएमा कोटा समेत थप गर्न सकिने बताए । 

कम्पनीको गोदाम नजिक चार वटा काँटा लगाएर किसानले ल्याएका धान बिहान ६ बजेदेखि बेलुकी ९ बजेसम्म खरिद गर्ने कार्य भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले जनाएको छ । प्रमुख लामिछानेले भने, ‘हालसम्म धान बिक्री गर्नका लागि जिल्लाका ५७२ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गरिसकेका छन् ।, अहिलेसम्म सबैभन्दा धेरै राप्तीसोनारी गाउँपालिकाका किसानहरू आउनुभएको छ, त्यसपछि जानकी, नेपालगञ्ज, बैजनाथ र डुडुवाबाट पनि किसान आएका छन् ।’ 

विभिन्न पालिकाका वडा कार्यालयहरुको सिफारिसका आधारमा एक किसानसँग करिब ६० क्विन्टलसम्म धान खरिद गर्ने कार्य भइरहेको कम्पनीले जनाएको छ । गत वर्ष ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको कम्पनीको नेपालगञ्ज कार्यालयले विभिन्न कारणले लक्ष्यभन्दा निकै कम धान खरिद गर्न सकेको थियो । तर यस वर्ष भने लक्ष्य पूरा हुने अहिले नै निश्चित भइसकेको छ । 

हालसम्म जिल्लाका ३१२ जना किसानले कम्पनीमा पुगेर धान बिक्री गरेर फर्किसकेका छन् । कम्पनीका अनुसार दैनिक २० देखि ३० जना किसानको करिब ८०० क्विन्टल धान खरिद गर्ने कार्य अहिले भइरहेको छ । 

गत वर्षभन्दा यस वर्ष सरकारले धानको न्यूनतम समर्थन मूल्य पनि बढाएको र धान खरिद पनि १५ दिन अगाडिबाटै सुरु गरिएको हुँदा लक्ष्य पूरा हुने निश्चित भएको छ । यस वर्ष सरकारले मध्यम धानको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ५८० रुपैयाँ ६२ पैसा र मोटो धानको समर्थन मूल्य ३ हजार ४१० रुपैयाँ ५१ पैसा कायम गरेर धान खरिद सुरु गरेको हो ।

प्रतिक्रिया