नेपालगञ्ज : बाँकेमा व्यावसायिक पुष्पखेती घट्दै गएपछि फूलको अभाव भएको छ । भारतबाट आउने अवैध प्लास्टिकजन्य फूलमाला र अन्य फूलका कारण बाँकेमा पुष्प व्यवसायी क्रमशः विस्थापित हुँदै गएका हुन् । केही वर्ष अघिसम्म दर्जनौँको सङ्ख्यामा व्यावसायिक फूलखेतीमा लागेका यहाँका महिला उद्यमी पछिल्ला वर्षदेखि विस्तारै विस्थापित हुँदै गएको फ्लोरी कल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगन्जकी पुष्प व्यवसायी बिन्दु चर्ती मगरले बताइन् ।
‘भारतबाट बिना भन्सार, बिना क्वारेन्टाइन र बिनाजाँच विभिन्न किसिमका फूलमाला नेपालगञ्जमा आउने गर्दछन्, हामीले वर्षभरि दुःख गर्छौँ, उत्पादन गर्छौँ, हाम्रो मूल्य नै आउँदैन,’ पुष्प व्यवसायी चर्ती मगरले भनिन्, ‘पारिबाट लुकीचोरी ल्याएका फूलमाला सस्तोमा बिक्री हुने गर्दछ, हामीले मूल्य पनि पाउँदैनौँ, मेहेनत गरेर उत्पादन गरेको फूलले बजार नपाउँदा विस्तारै पुष्प व्यवसायीहरू यो पेसाबाट विस्थापित हुँदै जान थालेका छन् ।’
सीमापारि भारतबाट आउने अवैध फूलमाला स्थानीय सरकार, प्रहरी प्रशासनले रोक्न नसक्दा बिनाजाँच, बिनाभन्सार र बिनाक्वारेन्टाइन अवैध रूपमा नेपाल आउने प्लास्टिक लगायत फूलमालाका कारण बाँकेका पुष्प व्यवसायी मर्कामा परेकाले पुष्प व्यवसाय यो वर्ष कम भएको उनको भनाइ छ । उनका अनुसार गत वर्षसम्म बाँकेमा १७ जना महिला उद्यमीहरूले व्यावसायिक फूलखेती गर्दै आएका थिए ।
‘यस वर्ष अधिकांशले फूलखेती गरेका छैनन्, विगत दुई वर्षदेखि लगातार घाटा भइरहेका कारण यस वर्ष फूलखेती गरेनन्,’ उनले थपिन्, ‘स्थानीय तहले आफ्नो पालिकाभित्र प्लास्टिकजन्य फूल र बाह्य फूल बिक्री वितरण गर्न रोक लगाए पनि पुष्प व्यवसायीलाई केही राहत हुने थियो ।’ कोहलपुर नगरपालिका–३ बाँकेकी पुष्प व्यवसायी विष्णु चौधरीले लगातारको घाटाका कारण यस वर्ष कम फूल उत्पादन गरेको बताइन् ।
यस वर्षको तिहारलक्षित फूलखेती कमै मात्रामा गरेको उनले सुनाइन् । ‘बाँकेमा फूलखेती मैले सुरुदेखि नै गरेँ, हरेक वर्ष तिहारमा व्यापार राम्रै हुन्थ्यो तर विगत दुई वर्षदेखि लगातार घाटा भयो,’ उनले भनिन्, ‘भारतबाट आउने फूलका कारण हामीले बिक्री गर्न सकेनौँ, उनीहरूले सस्तोमा बिक्री गरेका कारण हामीले प्रतिस्पर्धा गर्न सकेनौँ, हाम्रो लगानी नै नउठ्ने भएपछि तिहारमा फूलखेती कम गर्न थालेका छौँ ।’ बाँकेमा पुष्प व्यवसाय घटेपछि यतिबेला नेपालगन्जमा फूलको अभाव देखिएको छ ।
प्रतिकेजी रु ५०० देखि रु ८०० महँगो दरमा बिक्री गर्ने गरेको नेपालगन्ज–२१ की उपभोक्ता सृजना थापाले बताइन् । तिहारको समयमा नेपालगन्जको बागेश्वरी मन्दिरक्षेत्र वरिपरि, धम्बोझी चोक, त्रिभुवन चोक, त्रिवेणी मोड, पुष्पलाल चोक, बिपी चोक, भानुभक्त चोक, कारकाँदो चोक लगायत मुख्य चोक र बजार क्षेत्रमा भारतबाट आयातित गरिएका फूल तथा प्लाष्टिकको माला खुलेआम बिक्री हुने गरेको छ । यसका कारण बाँकेका पुष्प व्यवसायी विस्तारै विस्थापित हुँदै गएका हुन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार