नेपालगञ्ज : जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रमूख, प्रहरी निरीक्षक कनकबहादुर शाही 'बेस्ट ट्राफिक पुलिस अफ द मन्थ' घोषित भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले शाहीलाई लुम्बिनी प्रदेश अन्तरगत जेठ महिनाको 'बेस्ट ट्राफिक पुलिस अफ द मन्थ' अवार्ड प्रदान गरेको छ ।
ट्राफिक व्यवस्थापन, राजस्व संकलन, उत्कृष्ट कार्य सम्पादन, प्रभावकारी नेतृत्व र सेवामुखी कार्यशैलीको मुल्याङ्कन गर्दै प्रहरी निरीक्षक शाहीलाई उक्त सम्मान प्रदान गरिएको हो । उनले विभागीय मूल्य मान्यता, आदेश तथा निर्देशनको पालना गर्दै इमान्दारिता, बफादारी, कर्तव्यनिष्ठा, अनुशासन र लगनशीलता प्रदर्शन गर्दै आएको उल्लेख गरिएको छ ।
शाहीको नेतृत्वमा बाँकेमा ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित, अनुशासित र नागरिकमैत्री बनाउने अभियान प्रभावकारी बनेको, सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना गराउन जनचेतनामुलक कार्यक्रम, सुरक्षित सडक संस्कृतिको विकास तथा सेवाग्राहीसँगको व्यवहार सुधारमा केन्द्रित पहलले उल्लेखनीय उपलब्धी हासिल गरेको मूल्याङ्कन गरिएको छ ।
प्रदेश स्तरीय यो सम्मानले शाहीको व्यक्तिगत कार्यक्षमताका साथै बाँके ट्राफिक प्रहरीको समग्र कार्य सम्पादन, जिल्लामा ट्राफिक व्यवस्थापनमा देखिएको सुधार र नागरिकसँगको सहकार्यले पनि उक्त उपलब्धिमा महत्वपूर्ण भुमिका खेलेको बताइएको छ । सम्मानपछि प्रहरी संगठनभित्र जिम्मेवारी, अनुशासन र परिणाममुखी कार्यशैलीलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।
प्रहरी निरीक्षक शाहीले आगामी दिनमा पनि सुरक्षित, व्यवस्थित र सभ्य सडक यातायात व्यवस्था निर्माणका लागि प्रतिबद्ध भएर काम गर्ने विश्वास व्यक्त गरिएको छ । सरोकारवाला निकायहरूसँग समन्वय गर्दै ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने कार्यमा समेत उनले नेतृत्वदायी भूमिका खेलेका थिए ।
नेपाल प्रहरी नियमावली, २०७१ को परिच्छेद १५ को नियम १९७ को उपनियम बमोजिम दिइएको यस सम्मानले अन्य प्रहरी कर्मचारीहरूलाई समेत थप प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ । जेठ महिनाभर प्रहरी निरिक्षक शाहीले ट्राफिक नियमको पालना गराउने, सडक अनुशासन कायम गर्ने तथा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी नेतृत्व गरेका थिए ।
साथै उनले समुदायस्तरमा नियमित ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरी सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धिमा योगदान पुर्याएका थिए । साथै, प्रहरी निरिक्षक शाहीले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रणका लागि परीक्षण अभियानलाई प्रभावकारी रूपमा अघि बढाएका थिए ।
विभिन्न भिआइपी तथा भिभिआइपी सवारी आवागमनका क्रममा ट्राफिक व्यवस्थापनलाई चुस्त, सुरक्षित र व्यवस्थित बनाउँदै उनले उच्च कार्यकुशलता, इमान्दारिता र अनुशासनको परिचय दिएको कार्यालयले जनाएको छ । सो अवधिमा चालक, परिचालक तथा सवारी धनीलाई लक्षित गरी १५० वटा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।
त्यसैगरी, ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ८७७ वटा सवारी साधनमाथि कारबाही गर्दै १५ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरिएको थियो । स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने तीन वटा मोटरसाइकलमाथि कारबाही, २३९ वटा सवारी साधनको यान्त्रिक परीक्षण तथा कारबाही, अटो तथा ई–रिक्साको व्यवस्थापन र सडक सुरक्षा प्रवद्र्धनमा समेत उल्लेखनीय काम भएको कार्यालयले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार