Listen LIVE

अल्पसंख्यक अधिकारमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

नेपालगञ्ज : लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सवाललाई तथ्यपरक, संवेदनशील र मर्यादित ढङ्गले आम नागरिकसमक्ष पु¥याउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको सरोकारवालाले बताएका छन्।

नेपालगञ्जमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति समाजमा अझै पनि विभेद, पूर्वाग्रह र गलत बुझाइ कायम रहेकाले सञ्चारमाध्यमले तथ्यमा आधारित समाचार तथा सामग्रीमार्फत सकारात्मक जनचेतना फैलाउनुपर्नेमा जोड दिएका हुन्।

यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको महासङ्घ नेपालले स्थानीय साझेदार संस्था पश्चिम तारा नेपालसँगको समन्वयमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले समुदायका कानुनी अधिकार, सामाजिक अवस्था, सञ्चारमाध्यमको भूमिका तथा जिम्मेवार पत्रकारिताका विषयमा छलफल गरेका थिए।

कार्यक्रममा डिसिए प्राइडकी परियोजना प्रमुख -ट्रान्सवुमन सी–हर) मनिला न्यौपानेले महासङ्घले सन् २००७ देखि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको क्षमता अभिवृद्धि, मानवअधिकार संरक्षण, समानता प्रवद्र्धन तथा संस्थागत सञ्जाल विस्तारका क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी दिइन् । हाल महासङ्घमा देशका सातवटै प्रदेशमा कार्यरत ३२ सदस्य संस्था आबद्ध रहेको उनले बताइन् ।

उनले समुदायलाई हेर्ने दृष्टिकोणमा विगतको तुलनामा परिवर्तन आए पनि सामाजिक तथा राजनीतिक सहभागिताको अवस्था अझै कमजोर रहेको उल्लेख गरिन् । संविधानका विभिन्न धारामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका हक अधिकार उल्लेख भए पनि सामाजिक संरचनामा अझै विभेद कायम रहनु दुःखद भएको उनको भनाइ थियो।

कानुन तथा ऐन निर्माणमा ढिलाइ हुँदा संविधानले दिएको अधिकार पूर्ण रूपमा उपभोग गर्न नसकिएको उनले गुनासो गरिन् । बनेका कानुनको प्रभावकारी कार्यान्वयनमा समेत चुनौती रहेको उनले बताइन् ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सबै व्यक्तिलाई तेस्रो लिङ्गीका रूपमा बुझ्ने गरिएको भन्दै उनले यो बुझाइ गलत भएको स्पष्ट पारिन् ।

समुदायप्रति सकारात्मक धारणा निर्माण गर्न नागरिक समाज, राष्ट्रिय मानव अधिकार आयोग, निर्वाचन आयोग, मन्त्रालय, राजनीतिक दल तथा सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहने उनले बताइन् ।

कार्यक्रममा ट्रान्सवुमन सी–हर सिम्रन सेरचनले संविधानले समानता र विभेदविरुद्धको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय अझै सामाजिक बहिष्करण, अपमान, हिंसा तथा रोजगारी, शिक्षा र स्वास्थ्य सेवामा पहुँचका चुनौतीसँग जुधिरहेको बताइन् ।

उनले पछिल्ला वर्षहरूमा सर्वोच्च अदालतका फैसला, नागरिकता, पहिचान र समावेशिताका विषयमा केही सकारात्मक प्रगति भए पनि ती अधिकारको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको धारणा राखिन् ।

सञ्चारमाध्यम सूचना प्रवाह गर्ने माध्यम मात्र नभई समाजको सोच, धारणा र व्यवहार निर्माण गर्ने शक्तिशाली माध्यम भएकाले पत्रकारले प्रयोग गर्ने शब्द, तस्बिर, शीर्षक र प्रस्तुति शैलीले सकारात्मक परिवर्तन ल्याउन सक्ने उनले बताइन् । तर असावधानीपूर्वक तयार गरिएका सामग्रीले विभेद, डर र गलत बुझाइलाई थप बलियो बनाउन सक्ने उनको भनाइ थियो।

एलजीबीटीआईक्यू प्लस समुदायसम्बन्धी विषयमा समाचार सम्प्रेषण गर्दा मिडियाको भूमिका अझ संवेदनशील र जिम्मेवार हुनुपर्ने उनले बताइन् । समुदायका धेरै व्यक्तिले समाज, परिवार र संस्थागत संरचनाबाट बहिष्कार, हिंसा र अपमानको अनुभव गरिरहेको अवस्थामा गलत शब्द प्रयोग गर्ने वा सहमतिबिना पहिचान खुलाउने कार्यले व्यक्तिगत सुरक्षा र सामाजिक जीवनमा गम्भीर असर पार्न सक्ने उनले उल्लेख गरिन् ।

कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका माया मगर र परिना चौधरीले आफ्नो जीवन भोगाइ, समाजमा भोग्नुपरेका विभेद तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकारका विषयमा अनुभव सुनाउँदै समान व्यवहार र अवसरको अपेक्षा व्यक्त गरिन् ।

सहभागी सञ्चारकर्मीहरूले समुदायसँग सम्बन्धित समाचार सम्प्रेषण गर्दा अपमानजनक भाषा प्रयोग नगर्ने, व्यक्तिगत गोपनीयताको सम्मान गर्ने, सनसनीपूर्ण प्रस्तुति नदिने तथा मानवअधिकारमैत्री पत्रकारितालाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए ।

उनीहरूले सञ्चारमाध्यमले समुदायका समस्या मात्र नभई उनीहरूको उपलब्धि, क्षमता र समाजमा पु¥याइरहेको योगदानलाई समेत स्थान दिनुपर्ने आवश्यकता औँल्याए।

आयोजकका अनुसार यस्ता अन्तरक्रियाले सञ्चारकर्मीमा विषयगत बुझाइ अभिवृद्धि गर्नुका साथै समुदायप्रति सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। महासङ्घले आगामी दिनमा पनि सञ्चारकर्मी, स्थानीय सरकार र सरोकारवालासँग यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै अधिकार प्रवद्र्धनका लागि सहकार्य विस्तार गर्ने जनाएको छ।

प्रतिक्रिया