Listen LIVE

बिरुवा वितरण गरेर बाँकेमा हरियाली बढाईंदै

नेपालगञ्ज : बाँकेमा हरियाली फैलाउने, वातावरणीय सन्तुलन कायम राख्ने र किसानको आम्दानी बढाउने उद्देश्यले बिरुवा वितरण र उत्पादनमा जोड दिएको छ । कुनै समय दाउरा र काठका लागि प्राकृतिक वनमै निर्भर रहँदै आएको बाँके अहिले विस्तारै निजी खेतबारी र सार्वजनिक स्थानमा हरियाली फैलाउने दिशातर्फ उन्मुख हुँदै गएको छ ।

डिभिजन वन कार्यालयका योजना शाखाका वरिष्ठ वन अधिकृत सुशील सुवेदीका अनुसार जिल्लामा हजारौँ बिरुवा उत्पादन गरी वितरण गरिएको छ । यसले यहाँको जमिनलाई हरियाली बनाएको छ । आर्थिक वर्ष २०८१–०८२ मा कार्यालयले जिल्लाभरि नै ३० प्रजातिका पाँच लाख १३ हजार बिरुवा वितरण गरेको थियो । कार्यालयका अनुसार सो अवधिमा पाँच लाख ६१ हजार बिरुवा उत्पादन गरिएको थियो ।

ती बिरुवा किसानका निजी जग्गा, सामुदायिक वन, सडक किनार, धार्मिकस्थल तथा सार्वजनिक स्थानमा रोपिएका वरिष्ठ वन अधिकृत सुवेदी बताउँछन् । ‘बिरुवा वितरणको उद्देश्य केवल हरियाली बढाउनुमात्र होइन, स्थानीयस्तरमै काठ र दाउराको आवश्यकता पूर्ति गर्नु पनि हो र यसका साथै किसानको आयआर्जन बढाउनु पनि हो,’ उनले भने । बाँकेका केही स्थानीय तहमा वनक्षेत्र अत्यन्त न्यून छ भने केहीमा त वन नै छैन ।

यही अवस्थाले पछिल्ला वर्षमा किसानलाई आफ्नै खेतबारीमा रुख रोप्न प्रेरित गरेको अधिकृत सुवेदीको भनाइ छ । ‘खेतको कान्ला, खाली जमिन र घरआँगनमा लगाइएका रुख अहिले किसानको दैनिकीको महत्त्वपूर्ण हिस्सा बन्दै गएका छन्,’ उनले भने । किसान निजी खेतमा रुख रोप्न आकर्षित हुनुका पछाडि वातावरणीय चिन्तामात्र होइन, आर्थिक पक्ष पनि हो ।

छिटो बढ्ने र बजारमा माग हुने प्रजातिका बिरुवाबाट छोटो समयमा नै प्रतिफल पाइने भएकाले किसानको रुचि बढेको छ । किसान छिटो आम्दानी दिने प्रजातितर्फ आकर्षित देखिएका छन्, यसले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुगेको छ । विशेषगरी सागवान र युकालिप्टसजस्ता प्रजाति छिटो बढ्ने र सजिलै बिक्री हुने भएकाले यी बिरुवा नै किसानको पहिलो रोजाइमा परेका छन् ।

एक वर्षीय प्रजातितर्फ सागवान, युकालिप्टस र खयरको माग बढी रहेको र बहुवर्षीय प्रजातितर्फ श्रीखण्ड, कल्कीफूल, ज्याकराण्डा, गुलमोहर, धुपी र जामुनजस्ता बिरुवा लोकप्रिय बन्दै गएका छन् । नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिका र कोहलपुर नगरपालिका आसपास भेनियर उद्योग, प्लाइउड उद्योग, इँटा उद्योग तथा जडीबुटी प्रशोधन उद्योग सञ्चालनमा रहेकाले निजी खेतमा लगाइएका रुखको बजार सुनिश्चित हुँदै गएको छ ।

वरिष्ठ वन अधिकृत सुवेदीले भने, ‘यी उद्योगमा काठ र दाउराको खपत बढी भएकाले निजी खेतमा उत्पादन भएको काठ उद्योगमा कच्चा पदार्थका रूपमा प्रयोग हुँदा किसानको आम्दानी बढ्नुका साथै प्राकृतिक वनमा पर्ने मानवीय चाप पनि घटेको छ ।’ डिभिजन वन कार्यालयले बजारको मागसँगै वातावरणीय सन्तुलन र जैविक विविधताको संरक्षणलाई पनि समान प्राथमिकतामा राखेको वरिष्ठ वन अधिकृत सुवेदीले बताए ।

‘प्राकृतिक वन पुनःस्थापना र स्थानीय पारिस्थितिकी सन्तुलनका लागि साल, महुवा, खयर र सिसौजस्ता स्थानीय प्रजातिको उत्पादन तथा रोपणमा विशेष जोड दिइँदै आएको छ । बजारको माग र वातावरणीय सन्तुलन दुवैलाई ध्यानमा राखेर प्रजाति छनोट गरिएको छ ।’ हाल कोहलपुर, मेहनमानपुर, अगैया, सम्शेरगन्ज, नरैनापुर तथा केन्द्रीय नर्सरीमार्फत जिल्लाका विभिन्न पालिकामा बिरुवा वितरण हुँदै आएको छ ।

चालु आर्थिक वर्षमा छ लाखभन्दा बढी बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको वरिष्ठ वन अधिकृत सुवेदीले जानकारी दिए । ‘यसका लागि जिल्लाका आठ नर्सरीमा पोलिब्यागमा माटो भर्ने, ब्याड व्यवस्थापन, नर्सरी मर्मत तथा बिरुवाको गुणस्तर सुधारका काम तीव्र रूपमा अघि बढाइएका छन्,’ उनले भने । नर्सरी व्यवस्थापन र बिरुवा उत्पादन कार्यमा स्थानीय महिलाको उल्लेखनीय सहभागिता देखिन थालेको वरिष्ठ वन अधिकृत सुवेदीले बताए ।

यसले हरियाली विस्तारसँगै रोजगारी सृजना, सीप विकास र आत्मनिर्भरता प्रवद्र्धनमा पनि योगदान पुर्याइरहेको छ । बाँकेमा वनप्रतिको सोच, किसानको जीविकोपार्जन र वातावरणीय जिम्मेवारीलाई एउटै धारमा जोड्ने काम गरेको छ । निजी खेतबारी हरियाली बन्दै जाँदा प्राकृतिक वनमाथिको दबाब घट्ने, ग्रामीण अर्थतन्त्र बलियो हुने र वातावरणीय सन्तुलन कायम रहने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया