Listen LIVE

नेपालगञ्जमा हस्पिटालिटी तालिम शुरु

नेपालगञ्ज : नेपालगञ्जमा हस्पिटालिटी तालिम शुरु भएको छ । चार दिने निःशुल्क तालिमको आज नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्टले उदघाटन गरे । 

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) केन्द्रिय कार्यालयको आयोजना एवम् बाँके च्याप्टरको समन्वयमा शुरु भएको तालिममा ३१ जना सहभागी छन् । यस क्षेत्रमा पर्यटन ब्यवसायमा आबद्ध कर्मचारीहरुको क्षमता अभिबृद्धि गराई प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले बताए । 

तालिमको उदघाटन गर्दै नगर प्रमुख विष्टले पर्यटन क्षेत्रको विकासका लागि कर्मचारीहरुको क्षमता विकास गर्न जरुरी रहेको बताउँदै यो तालिमले उपलब्धि हासिल गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे । पर्यटनको क्षेत्रमा नेपालगञ्जले विस्तारै गति लिँदै गरेको भन्दै उनले अतिथि सत्कार महत्वपूर्ण पक्ष रहेको उल्लेख गरे ।

उदघाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, पर्यटन प्रबद्र्धन मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले तालिम उपयोगी हुने विश्वास ब्यक्त गर्दै शुभकामना ब्यक्त गरे । 

नेपाल पर्यटन बोर्ड र दिगो पर्यटन परियोजनाको आर्थिक सहयोगमा सञ्चालित तालिममा हस्पिटालिटी क्षेत्रका विज्ञ शुभम पौडेल र सचिन श्रेष्ठले प्रशिक्षण दिने नाट्टा बाँके च्याप्टरका महासचिव भागिराम वलीले बताए । 

नाट्टा केन्द्रिय समिति सदस्य एवम् तालिम तथा प्रशिक्षण प्रमुख श्रद्धा जोशी, बाँके च्याप्टरका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले तालिमको उद्देश्य र प्रभावकारिताबारे प्रकाश पारेका थिए भने प्रशिक्षक पौडेलले तालिमको सेड्युल र विषयबस्तुबारे जानकारी गराएका थिए । बाँके च्याप्टर अध्यक्ष रेग्मीको अध्यक्षतामा उदघाटन सत्र सम्पन्न भएको थियो ।

प्रतिक्रिया