Listen LIVE

बर्दियामा फैलिंदै कालानमक धान खेती

बर्दिया : बर्दियामा रैथाने बास्नादार कालानमक धान खेती बढ्दै गएको छ । गत चार वर्षदेखि ठाकुरबाबा नगरपालिकाले सहकारीसँग सहकार्य गरी कालानमक धानको प्रवर्धन र संरक्षणको सुरुवात गरेकोमा अहिले खेती गर्ने किसान बढ्दै गएका छन् । 

कुनै समयमा थारु समुदायले पाहुना वा विशेष अतिथी घरमा आउँदा भात खुवाउन प्रयोग गरिने बास्नादार काला नमक धान लोप हुँदै गएपछि ठाकुरबाबा नगरपालिकाले यसको संरक्षण र प्रवर्धनको सुरुवात गरेको थियो । 

यस वर्ष २१ विघा खेतका लागि सात क्विन्टल कालानमक धानको बिउ बिक्री गरिएको थियो । २१ विघा खेतमा कम्तिमा चारसय क्विन्टल कालानमक धान उत्पादन हुने सिंहबाहिनी शिवशक्तिी कृषक बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष युवराज शर्माले बताए । 

सहकारीले बर्दिया, बाँके, कैलाली, सुर्खेत, बुटवल र पोखरासम्म बिउ बिक्री गरेको बताए । 'आफ्नो लागि थोरै खेतमा उत्पादन गर्ने किसान त धेरै छन्, तथ्याङ्क राख्न सकिएको छैन' उनले भने, 'बर्दियाभित्र मात्र ९ विघा क्षेत्रफलमा व्यावसायिक रुपमा कालानमक धान खेती भएको छ ।' 

सहकारीले नै खरिद गर्नेगरी ७ विघा खेतमा धान लगाइएको बताउँदै यस वर्ष एक सय ५० क्विन्टल धान खरिद गर्ने योजना रहको उनले बताए । कालानमक धान तुलनात्मक रुपमा कम उत्पादन भए पनि किसानले पाउने दर उच्च रहेको छ । 

गत वर्ष सहकारीले खानको लागि सात हजार रुपैयाँ प्रतिक्विन्टल र बिउको लागि आठ हजार रुपैयाँ प्रतिक्विन्टलका दरले धान खरिद गरेको थियो । ठाकुरबाबा नगरपालिकाको सहयोगमा प्रवर्धन सुरु गरिएको धान प्रशोधन गरेर एकसय ९० रुपैयाँ प्रतिकिलोको दरले कोसेलीको रुपमा 'ठाकुरबाबा' ब्राण्डको चामल बिक्री गरिँदै आएको छ । 

मागअनुसार उत्पादन नभएकाले धान र धेरै मात्रामा चामल उपलब्ध गराउन नसकिएको अध्यक्ष शर्माले बताए । कालानमक धानलाई ठाकुरबाबा नगरपालिकाको पहिचानको रुपमा अगाडि बढाइएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले बताए । 

उनले भने, 'मैले पनि दुई विघा खेतमा धान लगाएको छु । कालानमकलाई नगरपालिकाको पहिचान र कोसेलीको रुपमा अगाडि बढाउने योजना छ ।' पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा कालानमक चामल पर्ने गरेको छ ।

प्रतिक्रिया