नेपालगञ्ज : बाँकेमा हालसम्म ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। गत वर्ष यही अवधिसम्म जिल्लामा ७२ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ। यस वर्ष मनसुन ढिलो सक्रिय भएकाले रोपाइँ गत वर्षको तुलनामा १२ प्रतिशतले कम भएको हो।
कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक अधिकृत खडक बस्नेतका अनुसार पछिल्ला दिनमा पर्याप्त वर्षा भएपछि रोपाइँले गति लिएको छ। असार १५ गते राष्ट्रिय धान दिवस मनाउँदा जिल्लामा ०.५ प्रतिशत मात्र रोपाइँ भएको थियो। त्यसयता करिब १५ दिनको अवधिमा रोपाइँ बढेर ६० प्रतिशत पुगेको उनले बताए।
उनका अनुसार जिल्लामध्ये नरैनापुर गाउँपालिकामा सबैभन्दा कम, २५ प्रतिशत मात्र धान रोपाइँ भएको छ। ढिलो वर्षा सुरु भएकाले त्यहाँ रोपाइँ प्रभावित भएको हो।
यता, राप्तीसोनारी गाउँपालिकामा सबैभन्दा बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। नेपालगन्ज र खजुरा क्षेत्रमा पनि समयमै वर्षा नहुँदा किसानले अपेक्षित गतिमा रोपाइँ गर्न सकेका छैनन्।
पानीको अभावका कारण असारको दोस्रो सातापछि मात्र रोपाइँ सुरु भएको थियो। हाल विभिन्न स्थानमा रोपाइँ जारी छ। अधिकांश किसानले सिक्टा सिँचाइ आयोजना र भूमिगत पानीको प्रयोग गरी धान रोपेको केन्द्रले जनाएको छ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रामशरण शर्माका अनुसार जिल्लामा धान खेती हुने ३३ हजार ७८० हेक्टर क्षेत्रफलमध्ये हालसम्म करिब १९ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको छ।
बाँकेमा मुख्यतः राधा–४ जातको मोटो धान तथा केही क्षेत्रमा भारतीय हाइब्रिड जातका धानको खेती हुँदै आएको छ। जिल्लाको कुल ५५ हजार ८२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ७८० हेक्टरमा धान खेती गरिन्छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार