नेपालगञ्ज : सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लिक्विड अक्सिजन भण्डारण ट्यांकी सञ्चालनमा आएको छ । जडान भएर पनि लामो समयदेखि प्रयोगमा आउन नसकेको २० किलोलिटर क्षमताको लिक्विड अक्सिजन ट्यांकी सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए ।
२०७९ सालमै कार्यकारी निर्देशक भएको बेला डा.भट्टराईले लिक्विड अक्सिजन ट्यांकी जडान गरेका थिए । तर सञ्चालन गर्न नपाउँदै अस्पतालको नेतृत्व फेरिएपछि लिक्विड अक्सिजन ट्यांकी संचालनमा आउन सकेको थिएन् । उनका अनुसार तत्कालीन स्वास्थ्य मन्त्रालयको समन्वय तथा युएसएडको आर्थिक सहयोगमा अस्पतालमा लिक्विड अक्सिजन भण्डारण ट्यांकी जडान गरिएको थियो ।
ट्यांकीमा प्रारम्भिक रूपमा १८ किलोलिटर लिक्विड अक्सिजन भरेर सेवा सुरु गरिएको छ । ट्यांकी संचालनमा आएसँगै अस्पतालले अक्सिजन सिलिन्डरमा भरेर दैनिक ढुवानी गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ।
लिक्विड अक्सिजन ट्यांकी सञ्चालन पछि श्रम र सञ्चालन खर्च घट्छ उनले भने–'सिलिन्डरको ढुवानी, लोड–अनलोड तथा व्यवस्थापनमा लाग्ने समय र खर्च कम हुन्छ।' अव पाइपलाइनमार्फत सिधै वार्ड, आईसीयू, शल्यक्रिया कक्ष र अन्य उपचार कक्षमा निरन्तर अक्सिजन आपूर्ति हुने उनले बताए ।
उनले भने–'क्यान्सर, आईसीयू तथा शल्यक्रियामा अक्सिजन अभाव हुने जोखिम न्यून हुन्छ। अस्पतालले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सर बिरामीलाई विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ।'
जनस्तरको धार्मिक अनुष्ठानबाट निर्माण भएको उक्त अस्पताल २०७२ सालमा संघीय सरकारलाई हस्तान्तरण गरिएको थियो । संघीय सरकारको स्वामित्वमा आए पनि हालसम्म आवश्यक दरबन्दी स्वीकृत हुन नसक्दा अस्पताल अस्थायी, करार र ज्यालादारी स्वास्थ्यकर्मीको भरमा संचालन हुँदै आएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार