धनगढी : नवजीवन सहकारी संस्था लिमिटेडले कैलालीमा एक करोड ५६ लाख रुपैयाँ खर्चेर राइस मिल सञ्चालनमा ल्याएको छ।
धनगढीमा रहेको सहकारीले गोदावरी नगरपालिका–८ मजगाउँमा राइस मिल सञ्चालन गरेको हो। मिलबाट उत्पादित मोटो (ग्रेडिङ्ग) चामल र मसिनो चामल बिक्री वितरण गर्न थालिएको छ।
सहकारीले कृषकको धान आफै खरिद गरेर आफ्नै ब्राण्डको चामल उत्पादन गरी बिक्री वितरण गर्न थालेको सहकारीका अध्यक्ष देवबहादुर बमले बताए। उनले सहकारीको विभिन्न डिपोसहित भाटभटेनी सुपरमार्केटबाट चामल बिक्री वितरण थालेको जानकारी दिए।
सहकारीले यसवर्ष पाँच करोड ७२ लाख ८१ हजार रुपैयाँ खर्चेर १६ हजार २८७ क्वीन्टल धान खरिद गरेको छ। हालसम्म एक हजार १८४ क्वीन्टल धान कुटाइ गरेर ६५१ क्वीन्टल चामल उत्पादन गरेको आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ। राइस मिल रहेको ठाउँलाई आगामी दिनमा औद्योगिक ग्रामको रुपमा विकास गर्दै लैजाने अध्यक्ष बमले बताए।
उनले आगामी दिनमा गहुँ, तोरी, मसुरो खरिद गरेर पिठो, तेल, दालसमेत उत्पादन गर्ने जानकारी दिए।
सहकारीले कृषि उपआयोजना कार्यक्रम सञ्चालनका लागि मजगाउँमा डेढ बिघा जमिन खरिद गरेको छ। सो स्थानमा राइस मिलसहित पाँच हजार टनको गोदामघर पनि निर्माण गरिएको छ। मिलमाप्रति घण्टा दुई मेट्रिकटन क्षमताको राइस मिल प्लान्ट जडान गरेको जनाइएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार