Listen LIVE

बाँकेमा दलित र सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

नेपालगञ्ज : बाँकेको कोहलपुर १ मा भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ । 

भूमि समस्या समाधान आयोग बाँकेले जिल्लाका ९१ जना भूमिहीन दलित र सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको जनाएको छ । भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा भूमि सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले लालपुर्जा वितरण गरेका हुन् । 

बर्षौंपछि आफूले खेतीपाती गर्दै आएको जग्गाको पुर्जा पाएपछि कोहलपुरका भूमिहीन दलित परिवार खुशी भएका छन् । मन्त्री अधिकारीले राष्ट्रिय भूमि आयोगले देशभर भूमिहीन, दलित र सुकुम्वासीहरूलाई कानुनी प्रक्रिया पूरा गरेर वास्तविक भूमिहीनलाई जग्गा वितरण गर्ने प्रक्रिया शुरु गरिएको स्पष्ट पारे । दलित समुदायले वर्षौंदेखि भोग्दै आएका भूमि क्षेत्रका समस्या र भूमिमा खोजिरहेको स्वामित्वबारे आफू जानकार रहेको मन्त्री अधिकारीको भनाइ छ । 

उनले लालपुर्जाविहीन स्थानीयबासीले लालपुर्जा पाए भन्ने सन्देश दिन अभियानको रूपमा अघि बढेको बताए ।

लालपुर्जा वितरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य सूर्य ढकाल, दिपा शर्मा, कोहलपुरका मेयर पूर्ण आचार्य, बाँकेका प्रहरी उपरीक्षक रामप्रसाद घर्तिमगर लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया