Listen LIVE

पर्यटकको रोजाइमा आमपानीको झरना

कैलाली : टिकटक र भिडियोमार्फत चर्चा बटुलेको आमपानी क्षेत्रमा पर्यटकको भिडभाड लाग्ने गरेको छ । कहिलेकाहीँ मात्र पर्यटक जाने आमपानीमा हिजोआज पर्यटक खाली हुँदैनन् । कोही अटो लिएर, कोही बसमा त कोही मोटरसाइकलमा आमपानी पुग्ने गर्छन् । आमपानी लम्कीदेखि आठ किलोमिटर उत्तरतर्फ चुरेको फेदीमा रहेको प्राकृतिक रमणीय छटाले भरिपूर्ण छ । 

आमपानी घुम्न र वनभोजका लागि आएकी टेङ्ग्नुवा महिला सामुदायिक वनका सचिव राधा पाण्डेले एकान्त जङ्गलभित्र रहेको आमपानी क्षेत्र रमणीय रहेको बताइन् । उनले समूहका ७० जना उपभोक्ता आमपानी घुम्न आएको जानकारी दिइन् । 

पर्यटकको भिड बढ्न थालेपछि आमपानीमा फोहोर बढ्न थालेको छ । वनभोज र घुम्न आउने पर्यटकले खानेकुरासँगै ल्याएका प्लास्टिकजन्य वस्तुको उचित व्यवस्थापन हुन नसकेको सचिव पाण्डेले बताइन् । उनले सामुदायिक वनले वनभोज खान आउनेसँग केही शुल्क उठाएर भए पनि फोहोर व्यवस्थापन गर्न सुझावसमेत दिइन् ।

कैलालीको मोहन्याल गाउँपालिकामा रहेको आमपानी पछिल्लो समय चर्चामा रहेको पर्यटकीय क्षेत्र हो । मोहन्याल गाउँपालिका–७ मा पर्ने बर्गदा सामुदायिक वनक्षेत्रमा रहेको आमपानी प्राकृतिक झरनालाई कृत्रिम निर्माणले अझ आकर्षक बनाएपछि पर्यटकको आकर्षण बढ्दै गएको स्थानीय बताउँछन् । 

कोरोना सङ्क्रमणकालमा प्राकृतिक चुरे पहाडको फेदीमा रहेको झर्नाको सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि उक्त क्षेत्रमा जानेको सङ्ख्या बढ्न थालेको हो । लम्कीचुहा नगरपालिका–१ का दधिराम चापाईले राम्रो बाटोको सुविधा पनि नभएको आमपानी चर्चामा आएपछि अहिले थुप्रै विकासनिर्माणका काम भएको बताए । उनले भने, “अहिले त्यहा पर्यटकका लागि जान सजिलो होस् भनेर पैदलमार्ग, वनभोज स्थल, शौचालय बनेको छ । झरना भएसम्म गाडीमा सजिलै जान सकिन्छ ।” मोहन्याल गाउँपालिकामा रहेको चर्चित पर्यटकीय स्थल राजकाँडा जाने बाटोमा आमपानी पर्छ । 

अन्य बारभन्दा बिदाको दिन र शनिबार उक्त क्षेत्रमा पर्यटकको भिडभाड हुने गर्छ । कैलालीलगायत आसपासका जिल्लाबाट वनभोज खान, झरनामा नुहाएर रमाइलो गर्न धेरै पर्यटक आमपानी आउने गरेको चापाईले बताए । नयाँ गन्तव्य क्षेत्रका रूपमा रहेका पर्यटकीय स्थलमा प्रदेश सरकारको अनुदान सहयोग रहेको छ ।

पर्यटकको रोजाइमा आमपानी पर्न थालेपछि व्यवस्थित गर्न सरकारले चासो दिएको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले बताए । सुदूरपश्चिम प्रदेश सरकारको पर्यटन प्रवर्धन कार्यक्रम अन्तर्गत झरनाको पूर्वाधार निर्माणमा सहयोग गरिएको हो । बर्गदा सामुदायिक वनका कार्यालय सचिव ध्वजबहादुर शाही भन्छन, “यो ठाउँ पहिले पनि प्रकृतिप्रेमीका लागि लोकप्रिय थियो, झरना निर्माणपछि भने आन्तरिक पर्यटकको सङ्ख्या झनै बढेको छ ।”

पदमार्ग र धेरैले नुहाउन मिल्ने झरनाको जग निर्माणका लागि ३६ लाख रुपैयाँ खर्च गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन एकाइ प्रमुख डबलबहादुर बोहोराले बताए । आमपानी पर्यटन क्षेत्रलाई व्यवस्थित गर्ने जिम्मा सामुदायिक वन उपभोक्ता समितिलाई दिइएको छ ।

प्रतिक्रिया